२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोभिड संक्रमण : दिल्लीमा मास्क अनिवार्य गर्ने तयारी गरिँदै

शुक्रवार , पौष ८, २०७९


नयाँदिल्ली, पुस । भारतमा कोरोना फैलनसक्ने आशैकामा राजधानी नयाँ दिल्लीमा  मास्क  अनिबार्य  गर्न लागिएको छ ।   मास्क लगाउनुपर्ने नियम करिव दुइृ महिनाअघि हटाइएको थियो ।  सार्वजनिक स्थानमा मास्क नलगाए हुने जरिवाना  गर्ने नियम करिब अढाई वर्षपछि गत अक्टोबर पहिलो साताबाट हटाइएको थियो । तर, दिल्लीमा पुनः मास्क अनिवार्य लगाउनुपर्ने नियम ल्याउन लागिएको छ ।
भारतीय सरकारको सचेततासँगै प्रधानमन्त्री नरेन्द्र मोदी मास्क लगाएर संसद् भवन आएको समाचार संस्थाहरुले जनाएका छन । यसँगै लोकसभा र राज्यसभाका सभामुखहरू ओम बिड्ला र जगदीश धनखडले पनि मास्क लगाएरै सदन चलाएका  जनाइएको छ । 
चीनमा कोरोनाको कहर बढ्दै गएपछि भारतले पनि सतर्कता अपनाउने तयारी गरेको हो । यद्यपि, हाल दैनिक संक्रमितको संख्या भने निकै कम छ । 
सरकारले मंगलबार मात्रै विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीलाई ‘भारत जोडो यात्रा’ रोक्न आग्रह गरेको थियो । योसँगै सरकारले सार्वजनिक रूपमा सतर्कताका उपाय अपनाउन आह्वान गर्न थालेको छ । कंग्रेसले आफूलाई लक्षित गरेर मात्रै सरकारले निर्णय लिएको र अन्यत्र कतै ‘कोभिड प्रोटोकल’ जारी नगरिएको भन्दै प्रश्न गरेको थियो ।

स्वास्थ्यमन्त्री मनसुख मान्डवियाले बिहीबार लोकसभामा कोरोनाले आफ्नो रूप बदलेर पुनः तर्साउन थालेकाले सतर्कताको आह्वान गरे । उनले पछिल्लो तीन वर्षमा कोरोना भाइरसमा पटक पटक भएको परिवर्तनले खतरा दोहोरिँदै गएको बताए ।

भारतमा पछिल्लो एक वर्षमा कोरोना संक्रमितको संख्या भने निकै घटेको छ । हाल औसत दैनिक १५३ जना संक्रमित थपिएका छन् । चीन, जापान, दक्षिण कोरिया, अमेरिका, फ्रान्सलगायतका देशमा पछिल्लो समय संक्रमण बढेको छ । ती देशको पछिल्लो अवस्थालाई मूल्यांकन गर्दै पुनः सतर्कताको कदम चाल्नुपर्ने स्थिति आएको मान्डवियाको भनाइ छ ।

विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रुको परीक्षण सुरु गरिएको जनाउँदै उनले चाडबाड, भोज भतेरप्रति सतर्कता र मास्क तथा सेनिटाइजरको प्रयोगमा ध्यान दिनुपर्ने बताएका छन् ।

यसैबीच, कोभिडको सम्भावित खतरालाई हेर्दै बिहीबार प्रधानमन्त्री मोदीले पनि उच्चस्तरीय बैठक गरे । गृह र स्वास्थ्य मन्त्रालयका मन्त्री तथा अधिकारीहरूसँग गरिएको बैठकमा कोरोनासँग कसरी लड्ने, आममानिसलाई पुनः सतर्क बनाउने तथा नयाँ निर्देशिका जारी गर्ने विषयमा छलफल भएको जनाइएको छ । 
चीनबाट फर्किएका गुजरातका एक युवकमा कोरोना संक्रमण भेटिएपछि सरकार थप सतर्क भएको हो । केन्द्र सरकार तातिएसँगै बंगाल, केरला, दिल्ली, उत्तरप्रदेश, कर्नाटक, महाराष्ट्र, मध्यप्रदेश र छत्तिसगढलगायतका प्रदेशले पनि आकस्मिक बैठक गरी संक्रमणको पछिल्लो अवस्था र सम्भावित खतराबारे समीक्षा गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार