काठमाडौँ, मंसिर । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिनुभएको छ । हालसम्म चार हजार ४९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले दुई हजार ९१० मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार १८३ मत प्राप्त गरेका छन ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेशसभा (१) मा तीन हजार नौ सय ६६ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले दुई हजार १८३ मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार ३२७ मत ल्याएका छन ।
प्रदेशसभा (२ं) मा चार हजार ४५३ मतगणना हुँदा एमालेका भरत केसीले दुई हजार १८५ र कांग्रेसका बर्मा लामाले एक हजार ८५७ मत प्राप्त गरेका छन । दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियोे । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।
दोलखामा जम्मा ९४ मतदानस्थल र १९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार ४५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।