काठमाडौं, मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार ९३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार ८५० रहेका थिए ।
प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी रहेको निर्बाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भए अनुसार उक्त प्रणालीतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर अग्रता लिइरहेको छ । हालसम्म उक्त दलले २७ लाख एक हजार ७२ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ लाख ५९ हजार १७१ मतसहित दोस्रो स्थानमा रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ११ लाख ४५ हजार ४४२, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार ६६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७१ हजार १७५, जनता समाजवादी पार्टी नेपालले तीनलाख ९६ हजार ८३९ र जनमत पार्टीले तीन लाख ६० हजार ६६९ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये १६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । सुनसरी क्षेत्र नं ४, स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आइसकेपछि आयोगले ‘सेन्ट लग’ सूत्र अनुसार दलहरूले बुझाएको अन्तिम बन्द सूचीबाट समानुपातिकमा पाउने स्थान (सङ्ख्या) निर्धारण गर्नेछ ।
दोलखाका १० मतदान केन्द्रमा यही मङ्सिर १५ गते पुनः मतदान हुँदैछ भने स्याङ्जा र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ ।