तिमी म भन्दा धेरै माथी पुगेछौ
त्यसैले मैले तिमीलाई हेर्न
बारम्बार घाँटी तन्काउनु पर्ने भयो
तिमी त उचाइमा पुगेको मान्छे
तल फर्केर हेर्ने कुरै भएन
अक्सर मान्छेहरू उचाईमा पुगेर
पछाडी फर्कन चाहदैनन्
खै किन हो
फेरी तल झरिन्छ भनेर हो या
माथी नै स्वर्गीय आनन्द छ
म त त्यहीँ छु
जहाँ बसेर तिमी र मैले सपना सजाएका थियौँ
तिमी माथी पुगेर मलाई पनि उभो तान्छु भन्थेउ
तर तिमीले माथी बाट तल हेर्नै बिर्सियौ
ठिकै छ तिमी माथी नै रमाएको भए मेरो गुनासो छैन
म तलै बसेर घाँटी तन्काएरै हेरौला
तर एउटा कुरा
तन्किएको घाँटी र सन्किएको जातीलाई
अपमानजनक तरिकाले नहेर्नु
यदी यिनमा धैर्यता टुट्यो भने
उचाइमा पुगेको मान्छेहरूपनि
जमीनमा पछारिन सक्छन्
लडेको मान्छे उठ्न सजिलो हुन्छ
तर पछारिएको मान्छे उठ्न
अरुकै सहारा लिनुपर्ने छ
त्योबेला तिमीलाई उठाउन
मेरा हातहरु आउने छैनन्
चेतना रहोस् ।