सुरुङ्गा (झापा), भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ को निर्वाचनपछि मुलुकले लगातार पाँच वर्ष काम गर्ने प्रधानमन्त्री पाउने बताएका छन । झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको मेचीनगरस्थित बाहुनडाँगीमा नवनिर्मित सालिकको अनावरण गर्नुहुँदै महामन्त्री शर्माले मुलुकमा लोकतन्त्र, गणतन्त्र र सङ्घीयता आइसकेकाले अब बन्ने प्रधानमन्त्री जनताको जीवनमा रुपान्तरण गर्न सक्ने चाहिएको र त्यस्तै प्रधानमन्त्री मुलुकले पाउने बताए ।
मुलुकले राजनीतिक व्यवस्था परिवर्तनका लागि पुग्दो आन्दोलन र सहादत भइसकेको बताउँदै महामन्त्री शर्माले, “अब जनताको अवस्था र राजनीतिक दलको कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता छ”, भने ।
नेपाली कांग्रेसका नेता घिमिरेको २०१९ जेठ ३१ गते बाहुनडाँगीबाट चन्द्रगढी जाँदै गर्दा प्रहरीले गोली हानेर हत्या गरेको थियो । उनको सहादत भएको ६० वर्षपछि नेपाली कांग्रेसले झापाका प्रथम सहिद घोषणा गरेको थियो ।
तत्कालीन बाहुनडाँगीका प्रधानपञ्च रहनुभएका घिमिरेको सहादत प्राप्त भएको छ दशकपछि निर्माण गरिएको शालिकको महामन्त्री शर्माले अनावरण गरेका छन । रु १४ लाख ६३ हजार नौ सय ४७ को लागतमा सालिक निर्माण भएको आर्थिक समितिका संयोजक मोहन निरौलाले जानकारी दिए ।
कार्यक्रममा कांग्रेसका पूर्वउपसभापति तथा सहिद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष राम कट्टेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, गोमा भट्टराई र सरिता प्रसाई, पार्टीका प्रदेश–१ का सभापति उद्धव थापा, उपसभापति देउमान थेबेलगायतले बोलेका थिए ।