काठमाडौँ, भदौ । देशभर पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ९३० जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा नौ लाख ९४ हजार ६१३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा एक लाख ४८ हजार ४६१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो समय थप ४२१ जना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७७ हजार ३५८ पुगेको छ ।
यस रोगका कारण पछिल्लो समय कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९९० पुगेको छ । त्यसैगरी पछिल्लो समय ९७ हजार ६५७ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २६५ पुगेको छ । तीमध्ये होम आइसोलेशनमा पाँच हजार ६७, संस्थागत आइसोलेशनमा १९८, आइसीयूमा ५४ र भेन्टिलेटरमा सात जनाले उपचार गराइरहेका छन् ।