काठमाडाैँ, साउन । द भ्वाइस अफ नेपाल सिजन ३ को चौथो वरियाताका प्रतिस्पर्धी गायक ज्वाला राईले नयाँ साङ्गीतिक सौगात माया जाल सार्वजनिक गर्नुभएको छ । प्रेमिल शैलीको यस गीतमा मिलन किराँतीको शब्द रहेको छ भने विक्रम राईको सङ्गीत रहेको छ । देवेश राईले यस गीतलाई सङ्गीत संयोजन गर्नुभएको हो ।
लुटपाटको घटनालाई आधार बनाएर तयार पारिएको म्युजिक भिडियोको कथामा गायक राई खलनायक चरित्रका रूपमा प्रस्तुत हुनुभएको छ । माया त गर्छु भन्छ्यौ, खै कस्तो छ तिम्रो चाल पो, हेर्दा त परी जस्ती छ्यौ, थाहा छैन मनकी कस्ती छ्यौ, भेटेको धेरै भाको छैन, पिरती हामीले लाको छैन लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।
भिडियोमा मानुषी तामाङ र गायक राईबीच प्रेम र रोमान्सको अभिनयसमेत प्रस्तुत गरिएको छ । भिडियोमा फराज अर्पणको डीओपी र विशाल थापाको छायाङ्कन रहेको छ । गायक राईको कन्सेप्ट, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।
भिडियो गायक राईको युट्युब च्यानल ज्वाला राईमार्फत सार्वजनिक भएको हो । यसअघि गायक राईको स्वरमा शीतल शीतल, दौरा भन्दा खल्ती लामो, तिमी फूल लगायत म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् ।