धनुषा, चैत । मधेस प्रदेशको ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ । चारपटक स्थगित भएपश्चात् आज बसेको मधेस प्रदेशसभाको आठौँ अधिवेशनको १३औँ बैठकबाट सो विधेयक पारित भएको हो ।
प्रदेश सरकारका अर्थमन्त्री विजयकुमार यादवले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो ।
सहकारी मूल्य, मान्यता र सिद्धान्तअनुरूप प्रदेशस्तरमा कृषि, कालिगढ, श्रमिक, न्यून आय भएका समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्तामाझ छरिएर रहेको पूँजी, सीप, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरूको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरण उन्नयन गर्न सहकारी सङ्घ संस्थाहरुको प्रवद्र्धन नियमन सहकारी खेती, उद्योग तथा सेवा व्यवसायका माध्यमबाट आत्मनिर्भर, दिगो एवम् समाजवाद उन्मखु राष्ट्रिय अर्थतन्त्रको विकास र प्रादेशिक अर्थतन्त्रको विकास गर्न मधेस प्रदेशको प्रदेशसभाले नेपालको संविधानको धारा, १९७ बमोजिम यो ऐन निर्माण गरिएको बताइएको छ ।
यस विधेयक पारित भएसँगै मधेस प्रदेशमा पारित हुने विधेयकको सङ्ख्या ४४ पुगेको छ । प्रदेशसभाको अर्को बैठक चैत १६ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।