फिदिम, पुस । हिउद याममा पूर्वका लिम्बू बहुल बस्तीहरु सुरीलो च्याब्रुङको धुनले तरङ्गीने गरेको छ । विवाहको सिजन सुरु भएसंगै लिम्बू गाउँ लिम्बू जातिकै साँस्कृतिक बाजा च्याब्रुङले गुञ्जिन थाल्ने गरेको हो । यहि माहोल छ–हिजोआज लिम्बू गाउँमा ।
खासमा लिम्बू भाषामा च्याब्रुङलाई ‘के’ भनिन्छ ।
यो बाजा बजाउदा ‘च्याङ’ र ‘ब्रुङ’को ठूलो आवाज निस्कने हुनाले यसलाई प्रायः आमले च्याब्रुङ नै भन्छन् । च्याब्रुङ बजाउदा यसबाट निस्कने तिख्खर आवाजले वारिपारी डाँडाकाँडा नै तरङ्गित पार्छ । लिम्बू समुदायले परम्परादेखि बजाउदै आएको च्याब्रुङ विशेष गरि विवाहमा अनिवार्यले बढी बजाइन्छ ।
त्यसैले नै लिम्बू गाउँ विवाहको सिजन लागेसंगै च्याब्रुङको धुनले रोमाञ्चकले धुनमय हुन थाल्छ । हिउद मै बढी हुने विभिन्न कार्यक्रमको शोभा बढाउन पनि च्याब्रुङ बजाइन्छ । जति बजायो उति मिठासपूर्णले बज्ने हुनाले कुनै विवाह, कार्यक्रममा लैजान नौ, दश दिन अगाडिदेखि मर्मत गर्दै च्याब्रुङ बजाउन थालिन्छ ।
यहि समयमा नयाँ पुस्ताले च्याब्रुङ बजाउने अभ्यास गर्छन् । यसले गर्दा हिउँदको मङ्सिरदेखि वैशाखसम्म दिनैजसो बजाउदा निस्कने ‘च्याङ’ ‘ब्रुङ’को आवाजले लिम्बू गाउँ गुञ्जयमान हुने गर्छ । यो परिवेश अहिले पूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, झापा, मोरङ, सुनसरीका लिम्बू बस्तीमा भित्रिएको छ ।
‘च्याब्रुङ’ दुईदेखि पन्ध्र÷विस जना सम्मको कलाकार समुहमा नाचसमेत नाच्दै एउटै तालमा बजाइन्छ । यसरी बजाइदा उत्पन्न हुने ‘च्याङ–ब्रुङ’को तरङ्ग टाढा–टाढासम्म फैलिइन्छ । विवाहको समयमा दुहाला पक्षको घरमा च्याब्रुङ तीन दिन दुई रातसम्म बजाइन्छ ।
पहिलो दिनवीच बाटैदेखि दुलहीको स्वागत गर्न र दोस्रो दिन भोलीपल्ट हर्ष बढाइ गर्दै घरमा भित्रयाउन बजाइन्छ । यहि दिनको रातमा लगनपछि नव दम्पतिलाई शुभकामनसहितको आशिष दिदै घरको मुल थाममा फन्को मार्दै लिम्बू गायनका साथ च्याब्रुङ बजाइन्छ ।
अन्तिम दिन लोकन्दी (दुलहीका महिला साथी र अभिभावकको समुह) लाई शुभयात्राको सत्भाव प्रकट गर्दै विदाई गर्न बजाइन्छ । दुलही पक्षको घरमा गरिने बैवाहिक कार्यक्रममा पनि एक दिन च्याब्रुङ बजाउने चलन छ । यस प्रकारले हिउद समयमा बाक्लो गरि हुने वैवाहिक कार्यक्रममा च्याब्रुङ घन्काइदा यसको घन्कोले गाउँघर सङ्गीतमय हुने नै भयो ।
लिम्बू जातिको धेरै संस्कृतिको मौलिकता गुम्दै गएसंगै लोपन्मुख अवस्थामा छन् । तत्कालमा च्याब्रुङले त्यो अवस्था भोग्नु परेको छैन । संस्कृति संरक्षण गर्नुपर्छ भन्ने चेतनाको विकास भएसंगै युवा पुस्तामा च्याब्रुङ बजाउने नाच्ने क्रम बढेको लिम्बू जातिको समाजिक संस्था किराँत याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले बताउनुभयो ।
आधुनिक सङ्गीतको सुर तालसंग सुत्रबद्ध गरेर अन्तराष्ट्रियकरण गर्न सके साँस्कृतिक पर्यटनका हिसावले च्याब्रुङको महत्व थप बढ्ने सङ्गीतकर्मी बुद्धराज लिम्बू बताउँछन ।