काठमाडौँ, असोज । सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको पुनः स्पष्ट पारेको छ । सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचार माध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ ।
स्यानिटरी प्याड आयातमा आव २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको र कुनै पनि वृद्धि नगरिएको मन्त्रालयले स्पष्ट पारेको छ । अर्थ मन्त्रालयले भनेको छ, वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गर्दछौँ ।
स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर पाँच प्रतिशत मात्रै कायम गरिएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले भनेको छ, स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पु¥याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको हो ।
ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानीजानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरूको भ्रममा नपर्न मन्त्रालयले अनुरोध गरेको छ । राजश्व सचिव कृष्णहरि पुस्करले आज नै स्यानिटरी प्याण्डमा कुनै पनि कर वृद्धि नगरिएको स्पष्ट पारिसक्नुभएको छ ।
उहाँले स्यानिटरी प्याडमा कुनै कर, दस्तुर, महशुल वृद्धि नगरेको र स्यानिटरी प्याडको उत्पादनलाई विशेष प्रोत्साहन गर्ने नीति लिइएको बताउनुभएको थियो । मन्त्री शर्माले गत भदौ २५ गते सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको विनियोजन विधेयक, २०७८ को बुँदा नं ७३ मा करको विषयमा केही उल्लेख छैन ।
सो बुँदाले स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्य राखी छुटको व्यवस्था गरिएको छ । मन्त्री शर्माले प्रस्तुत गर्नुभएको चालु आवको बजेटमा स्वास्थ्य खोप, अक्सिजन ग्यास तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन शुरू भएको मितिले ती वर्षसम्म लाग्ने करमा शत प्रतिशत र त्यसपछिको दुई वर्षसम्म ५० प्रतिशत छुट हुनेछ, भन्ने उल्लेख छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७७/७८ मा नेपालमा रु एक अर्ब १७ करोड ७४ लाख बराबरको स्यानिटरी प्याड आयात भएको देखिन्छ । ती प्याड र टेम्पोनबाट नेपाल सरकारले रु ३४ करोड २४ लाख राजस्व सङ्कलन गरेको थियो । भन्सार विभागले आज सार्वजनिक गरेको चालु आवको पहिलो महिनामा मात्रै रु आठ करोड ७९ लाख बराबरको स्यानिटरी प्याडल आयात भएको छ ।
त्यसबाट रु दुई ५६ लाख राजस्व सङ्कलन भएको छ । जानकारका अनुसार देशभित्र रु तीन अर्ब बराबरको स्यानिटरी प्याड र टेम्पोन खपत हुने गरेको छ । नेपालमा एकाध उद्योग सञ्चालमना छन् । भन्सार विभागका अनुसार भारत, चीन, डेनमार्क, हङकङ, फिलिपिन्स, बेलायत, अमेरिकलगायत मुलुकबाट नेपालमा स्यानिटरी प्याड र टेम्पोन आयात हुने गरेको छ । रासस