लण्डन, साउन । संयुतm अधिराज्य (बेलायत) मा रहेका नेपाली चिकित्सकको संस्था नेप्लिज डक्टर्स एसोसिएशन यूकेको अध्यक्षमा डा.कमल अर्याल निर्वाचित हुनु भएको छ ।
एसोसिएशनको ३६ आँै बार्षिक साधारण सभाले उपाध्यक्षमा डा.सञ्जिव नेपाली, महासचिवमा डा. पारस सिंह, सहसचिवमा डा.रेखा श्रेष्ठ र कोषाध्यक्षमा डा. प्रज्ज्वल घिमिरेलाई पनि निर्विरोध निर्वाचित गरेको छ ।
भर्जुअल माध्यमबाट सम्पन्न भएको साधारण सभाले डा. आरती हमाल, डा. आशिष श्रेष्ठ, डा. रोजन केसी, डा. डोन्ना श्रेष्ठ र डा. शारदा गुरुङलाई सदस्यमा छनोट गरेको छ । निर्वतमान अध्यक्ष डा.रमेश खोजी पदेन सदस्य रहनु भएको नवनिर्वाचित अध्यक्ष डा.अर्यालले जानकारी दिएका छन ।
तीन दिनसम्म चलेको साधारण सभामा प्राध्यापक जोन डिलोन, डा. थोमस मार्जोट, डा. स्टिभ पाण्डे तथा प्राध्यापक पालेश्वान लाखेले ‘ग्यास्ट्रोइन्टेरोलोजी’ बारे आफ्ना धारणा राख्नुका साथै कार्यपत्र पनि प्रस्तुत गरिएको थियो ।
सन १९८५ मा स्थापित एसोसियशनले प्रत्येक वर्ष च्यारिटीमार्फत नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ ।
अध्यक्ष डा.अर्यालले आगामी दिनमा च्यारिटी कार्यक्रमलाई थप बढाउदै लगिने बताउँदै बेलायत र नेपालमा कार्यरत चिकित्सकको अनुभव आदानप्रदान गराउने खालका कार्यक्रम गर्ने योजना रहेको जानकारी दिएका छन । बेलायतमा हाल ३०० देखि ४०० को हाराहारीमा नेपाली चिकित्सक रहेको अनुमान छ ।