काठमाडौं, मंसिर ।
निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण हुन नसक्दा थप चुनौतिहरू सिर्जना भएको जनाएको छ ।
शुक्रबार ललितपुरमा आयोजित आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको मध्यावधि मूल्याङ्कनका लागि सरोकारवालासँगको परामर्श छलफलमा आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले एआई,साइबर सुरक्षा तथा सामाजिक सञ्जालबाट फैलिने गलत र भ्रामक सूचनाको चुनौतीलाई सम्बोधन गर्नुपर्ने देखिएपनि निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण हुन नसक्दा समस्या देखिन सक्ने बताए ।
उनले निर्वाचनसम्बन्धी कानुन सुधार,२०८४ सालका विभिन्न तहका निर्वाचनको पूर्वतयारी, प्रविधि तथा साइबर सुरक्षाको सुदृढीकरण र आयोगको संस्थागत क्षमता अभिवृद्धिलाई जोड दिनुपर्ने बताए।
उनले देशभरिका सबै मतदान केन्द्रको भू - लोकेसन क्लियर भइसकेको र भू–सूचना प्रणालीलाई अद्यावधिक गरिएको जनाउँदै थप स्तरीकरण गरी पूर्वाधारको अवस्थासमेत हेर्न सकिने गरी अघि काम भइरहेको जानकारी दिए।
स्रोत र शान्ति सुरक्षा उपलब्ध गराउने सन्दर्भमा संघीय सरकारमा निर्भरता बढी रहे पनि टास्क फोर्स वा स्थानीय तहबाट मतदाता शिक्षा र समन्वयलाई अझ व्यवस्थित गर्नुपर्ने रणनीति रहेको उनको भनाइ छ ।
त्यस्तै भट्टराईले आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्मका लागि तयार गरिएको रणनीतिक योजनाको पहिलो दुई वर्षको मध्यावधि मूल्याङ्कनमा हालसम्म २४ प्रतिशत क्रियाकलाप मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको उल्लेख गरे।
चौथो रणनीतिक योजना स्वच्छ,स्वतन्त्र,निष्पक्ष,समावेशी र विश्वसनीय निर्वाचनमार्फत लोकतन्त्रको सुदृढीकरण गर्ने दीर्घकालीन सोचसहित तयार गरिएको आयोगले जनाएको छ ।