काठमाडौं, कात्तिक ।
सशस्त्र प्रहरी बल, नेपालले दसैंको अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवत जावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।
दसैंको समयमा उपत्यकामा सार्वजनिक यातायातका साधनहरू अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकलाई आवत जावतमा सुविधा दिने उद्देश्यसाथ सशस्त्र प्रहरी बल, नेपालद्वारा यो निःशुल्क बस सेवा सञ्चालन गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपालले उपत्यकाभित्र सञ्चालन गर्ने सो निःशुल्क बस सेवा आजबाट लगातार ३ दिन , बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालनको व्यवस्था मिलाइएको छ ।
काठमाडौँ उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुलाई सेवा प्रदान गर्नेछ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर, नयाँ बसपार्क,हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ।
दसैंको समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बस सेवा सञ्चालन गर्दै आइरहेको सस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए।