काठमाडौँ, असोज ।
हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।
यसका साथै देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशका हिमाली भूभागमा आंशिक बदली हुनुका साथै पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान गरिएको छ। देशका तराई भूभागमा भने आंशिक बदली रहनेछ।
यसैगरी, दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका तराई भूभागमा भने रातिको समयमा मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा तथा कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा र बागमती एवं गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ।