काठमाडौं, भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्वाला संग्रौलाको अभिव्यक्ति लिएर संसदमा लफडा भएको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै संग्रौलाले प्रधानमन्त्रीले लगाएको चस्माको विषयमा टिप्पणी गर्नुभन्दा सरकारले देश बनाउने काम गरिरहेको छ कि छैन भन्ने विषय महत्वपूर्ण भएको बताइन्।
उनले भनिन् ,' प्रधानमन्त्रीले कालो चस्मा लगाए नि सेतो चस्मा लगाए नि देश बनाइदिए भएन र,सभामुख महोदय ?'
त्यसपछि उनले प्रतिपक्षी दलका सांसदप्रति लक्षित गर्दै कालो चस्मामाथि नभइ प्रतिपक्ष दलका सांसदहरूको कालो नियतमाथि प्रश्न खडा हुने बताइन्।
संग्रौलाको उक्त अभिव्यक्तिपछि प्रतिपक्षी दलका सांसदहरूले सिटबाट उठेर विरोध जनाए। नेकपा एमालेकी सांसद साजिदा सिद्धिकीले प्रतिवादन गरिन्।
उनले रास्वपाको सरकारले गुण्डराज चलाएको बताउँदै प्रतिपक्षी देश र जनताको पक्षमा रहेको बताइन्। सिद्धिकीको जवाफ पछि संग्रौलाले फेरि प्रतिवाद गरिन्।
उनले सिद्धिकीको भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखसमक्ष माग गरिन्।