काठमाडौं, साउन ।
नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय भेलाका संयोजक डा.शशांक कोइरालाले राष्ट्रिय भेलामा सहभागी नेता तथा कार्यकर्ताबीच बढेको मित्रता र एकता कायम राख्न आग्रह गरेका छन्।
आइतबार राष्ट्रिय भेला समापन समारोहलाई सम्बोधन गर्दै कोइरालाले तीन दिनसम्म सँगै बसेर आपसी सम्बन्ध र मित्रता थप प्रगाढ भएको बताए।
तपाईंहरूलाई बिदाइ गर्न मलाई पीडा भइरहेको छ। तीन दिन हामी बस्यौं,खायौं। मित्रता बढ्यो,आपसमा आदानप्रदान भयो। यो मित्रता नटुटोस्,' उनले भने।
उनले राष्ट्रिय भेला पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले आयोजना गरिएको भन्दै आगामी दिनमा पनि सबै एकै ठाउँमा उभिनुपर्ने बताए। यो सम्मेलन एकताबद्धताका लागि गरेको हो।
त्यही कारण हामी एकै ठाउँमा उभिएका छौं। भोलि पनि एकै ठाउँमा उभिनुपर्छ,' कोइरालाले भने। भेलाको संयोजकको जिम्मेवारी पाएपछि आफूले सफलतापूर्वक काम गर्न सक्ने हो कि होइन भन्ने डर लागेको भए पनि सहभागीहरूको उत्साहजनक सहभागिताले भेला सफल भएको उनले बताए।
नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेलाले पाँचवटा प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ। काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा शुक्रबारदेखि भेला सुरू भएको थियो।