काठमाडौं, साउन ।
विभिन्न धार्मिक संघ संस्थाका अगुवाहरूले सुनसरीको देवानगञ्जमा भएको घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा उत्पन्न असहज परिस्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन सबै नेपालीलाई आह्वान गरेका छन्।
शुक्रबार जारी संयुक्त अपील जारी गर्दै सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
धार्मिक अगुवाहरूले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएकाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकता नै देशको पहिचान भएको उल्लेख गरेका छन्।
कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुग्न नहुने उनीहरूको भनाइ छ। अपीलमा सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन गरी कानूनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई कारबाही गर्न सरकारसँग माग गरिएको छ।
साथै पीडित परिवारलाई राहत, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न पनि आग्रह गरिएको छ।
धर्मको नाममा हिंसा फैलाउने प्रयास भइरहेका बेला नागरिकलाई संयमित रहन तथा उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन अपिल गरिएको छ।
सबै धर्मको मूल भावना मानव कल्याण, सहिष्णुता, सामाजिक एकता र भाइचारालाई सुदृढ बनाउनु रहेको उल्लेख गर्दै कुनै पनि धर्मले अर्को धर्मप्रति विभेद वा उचनिचको व्यवहार नगर्ने तथ्यलाई आत्मसात गर्नुपर्ने उनीहरूको भनाइ छ।
धार्मिक अगुवाहरूले स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक नेतृत्व, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनःस्थापनामा सक्रिय योगदान दिन पनि आह्वान गरेका छन्।
संयुक्त अपीलमा विश्व हिन्दू महासंघ, नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दू महासंघ, नेपालका सचिवालय सदस्य राजुराज फुयाँल तथा अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गरेका छन्। - अन्नपूणबाट