काठमाडौं, जेठ ।
NIMB bank Limited को कपन शाखामाथि ग्राहक विवरण अद्यावधिक नगर्दा निर्दोष व्यक्तिलाई समेत कालोसूचीमा पारिएको गम्भीर आरोप लागेको छ।
शेखरनाथ सेक्युरिटी कम्पनीका पुराना सञ्चालक सात वर्षअघि नै कम्पनी बिक्री गरी व्यवस्थापनबाट अलग भइसकेको अवस्थामा समेत बैंकले पुरानै KYC विवरणका आधारमा चेक अनादर प्रकरणमा उनीहरूको नाम कालोसूचीमा राखेको ताजा घटना सार्वजनिक भएको हो।
पीडित पक्षका अनुसार कम्पनी स्वामित्व परिवर्तन भइसकेपछि नयाँ व्यवस्थापनले कारोबार सञ्चालन गरिरहेको भए पनि बैंकले पुराना सञ्चालकको विवरण अद्यावधिक नगरी खाता सञ्चालन गराएको थियो। पछि चेक अनादरको विषय आएपछि नयाँ सञ्चालकसँगै पुराना सञ्चालकलाई समेत कालोसूचीमा समावेश गरिएको आरोप लगाइएको छ।
पीडित पक्षको भनाइ छः
कम्पनी सात वर्षअघि नै बिक्री भइसकेको थियो। पुराना सञ्चालकको कुनै संलग्नता नरहे पनि बैंकले आफ्नो KYC प्रणाली अद्यावधिक नगरी पुरानै विवरणको आधारमा कालोसूचीमा राख्नु अन्यायपूर्ण र गैरजिम्मेवार कार्य हो।
बैंकिङ तथा कानुनी क्षेत्रका जानकारहरूका अनुसार ग्राहक पहिचान तथा KYC अद्यावधिक गर्ने जिम्मेवारी केवल ग्राहकको मात्र नभई बैंकको पनि नियामकीय दायित्वभित्र पर्छ।
नेपाल राष्ट्र बैंकको AML / CFT निर्देशिका अनुसार बैंकहरूले समयसमयमा ग्राहक विवरण अद्यावधिक, जोखिम मूल्यांकन तथा व्यवस्थापन परिवर्तनको निगरानी गर्नुपर्ने हुन्छ। तर उक्त घटनामा बैंकले वर्षौँसम्म पुरानै कागजातमा खाता सञ्चालन गराएर पछि सम्पूर्ण जिम्मेवारी ग्राहकलाई मात्र थोपरेको आरोप लागेको छ।
यसलाई प्राकृतिक न्याय, अनुपातिकता तथा सुशासनको सिद्धान्तविपरीत कार्य भएको भन्दै आलोचना हुन थालेको छ। घटनापछि बैंकिङ प्रणालीको विश्वसनीयतामाथि समेत प्रश्न उठेको छ।
पीडित पक्षले भनेको छ :
' यदि कुनै व्यक्ति कम्पनीबाट अलग भएको वर्षौँपछि पनि बैंकको लापरवाहीका कारण कालोसूचीमा पर्न सक्छ भने भविष्यमा ग्राहकले बैंकमाथि कसरी विश्वास गर्ने ? '
उक्त विषय हाल कानुनी प्रक्रियामा रहेको र पीडित पक्षले आफ्नो संवैधानिक अधिकार, प्रतिष्ठा तथा व्यवसायिक सम्मान हनन भएको भन्दै न्यायिक उपचार खोजिरहेको जनाएको छ।
यस घटनाले बैंकहरूको KYC प्रणाली, नियामकीय अनुगमन तथा ग्राहक सुरक्षासम्बन्धी व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ।