काठमाडौं, बैशाख ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमका बिषय बस्तुप्रति बिपक्षी दलका सांसदहरुले आलोचना गरेका छन् भने सत्तारुद्ध दलका सांसदहरुले नीति तथा कार्यक्रमको बचाउ गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बिहीबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बिपक्षी दलका सांसदहरुले सरकारको नीति तथा कार्यक्रम परम्पराबादी भएको टिप्पणी गरेका छन् ।
त्यस्तै सत्तारुढ दलका सांसदहरुले भने मुलुकको मुहार परिवर्तन गर्ने गरी सरकारको कार्यक्रम आएको जनाएका हुन् । छलफलमा भाग लिदै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले प्रजातन्त्रको मूल्यमान्यता बिपरित अघि नबढ्न सरकारलाई सुझाव दिए ।
उनले सरकारको कार्यक्रममा केहि राम्रा कार्यक्रम रहे पनि अधिकांश पुरानै कुरा दोहरिएको र परम्पराभन्दा माथि उठ्न नसकेको धारणा राखे । सांसद केसीले संसदको बहुमत मात्रै अन्तिम होइन भन्ने हेक्का राख्न सुझाव समेत दिए ।
त्यस्तै नेकपा एमालेकी सांसद पद्मा अर्यालले सरकारको नीति र कार्यक्रम स्पष्ट नरहेको बताए । नीति तथा कार्यक्रम राष्ट्रकै दस्तावेज भएकाले यसप्रति टिप्पणी गर्नु विरोध नभइ राष्ट्रप्रतिको जिम्मेवारी भएको उनको भनाइ छ । उनले समृद्ध नेपाल सुखी नेपालीको बिषयलाई कार्यक्रमबाट झिक्नु उचित नभएको उल्लेख गरिन् ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकारको नीति कार्यक्रममा समाजबादउम्मुख अर्थतन्त्रको बिषय मौन रहेको बताए । उनले सरकारको कार्यक्रमलाई दिशाहिन नबनाउन समेत आग्रह गरे ।
छलफलका क्रममा सत्तारुढ दल रास्वपाका सांसद विपिनकुमार आचार्यले नीति तथा कार्यक्रम निकै राम्रो रहेकाले यसलाई थप उत्कृष्ट बनाउनु पर्ने बताए ।
उनले नीति निर्माणका लागि सांसदहरुको भूमिकालाई समेत प्रभावकारी बनाउनु पर्ने धारणा राखे । त्यस्तै सांसदहरुले संविधान कार्यान्वयन, संघीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा जोड दिएका थिए ।