२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक छलफल

सरकारको पछिल्लो कदम : ' प्रतिपक्षी सांसदले पोखे आक्रोश'

सोमवार , बैशाख २८, २०८३

 

 

काठमाडौँ, वैशाख ।

प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सरकारको पछिल्लो कदमविरुद्ध आक्रोश व्यक्त गरेका छन । संसद् बैठकमा आज विशेष समयमा बोल्दै उहाँहरूले सो आक्रोश व्यक्त गरेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सांसद जगदीश खरेलले आफू कार्यक्रममा भाग लिन स्वीट्जरल्यान्ड गएको भए पनि सुटुक्क भागेको भनेर एक पत्रिकाले समाचार लेखेकोप्रति दुःख व्यक्त गरे । आफूले त्यस्तो अनुचित काम गरेको भए प्रमाणित गर्न उनले चुनौती दिए । 

व्यक्तिगत स्वाभिमानमाथि आक्रमण भएको बताउँदै उनले स्वस्थ पत्रकारिता गर्न आग्रह गरे । प्रेस काउन्सिललाई सशक्त बनाउन आग्रह गर्दै उनले सञ्चारमन्त्रीको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका सांसद निस्कल राईले सरकारले अध्यादेशबाट शासन चलाउन खोज्नु गलत भएको बताए । दुई तिहाई बहुमत भएको सरकारले संसद छलेर अध्यादेशमार्फत अघि बढ्न खोज्नु नै गलत अभ्यास भएको उनले बताए ।

नेकपा -एमाले)का सांसद पद्माकुमारी अर्यालले संसद बैठक स्थगित गरेर अध्यादेश ल्याउने काम गलत भएको बताईन । बहुमतको निरंकुशताको सङ्केत आफूहरूलाई भएको उनले बताए । सरकारको निर्णयले शक्ति पृथकीकरण सिद्धान्तको धज्जी उडाएको टिप्पणी गरे ।

लोकतन्त्रको प्राण भनेको नागरिकहरु सङ्गठित हुन पाउने अधिकार भए पनि कर्मचारी र विद्यार्थी सङ्गठन खारेजले गम्भीर आशङ्का उब्जाएको बताए । सरकार नियन्त्रित तानाशाहतर्फको यात्रामा रहेको उनले आरोप लगाए ।

सांसद युवराज दुलालले सरकारले डोजर आतङ्क मच्चाएर नागरिकहरूलाई समस्यामा पारेको बताए । अध्यादेशबाट देश चलाउने सपना सरकारले देखिरहेको बताउँदै उनले दुई तिहाइ बहुमतलाई त्यसले गिज्याएको टिप्पणी गरे ।

प्रधान न्यायाधीश नियुक्ती प्रक्रियामा सरकारले गलत निर्णय गरेको उनले आरोप लगाए । त्यो कदम निरंकुशतातर्फको सङ्केत भएको उनले बताए ।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सुकुमवासी बस्तीमा डोजर चलाएर गलत काम गरेको बताउँदै उनले गरिबलाई रुवाएर सरकार चलाउनु गलत अभ्यास भएको बताए ।

विधि तिथी मिचेर सरकारले अध्यादेश ल्याएर गलत अभ्यासमा लागेको बताउँदै उनले लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको उहाँले टिप्पणी गरे । संवैधानिक परिषदमा ३ जना भएर बहुमत हुने अभ्यास त्रुटिपूर्ण रहेको बताउँदै उनले सरकारले त्यसको जवाफ दिनुपर्ने उनले माग गरे ।

बजेट बनाउँदा प्रतिपक्षी दलहरूसँग छलफल गर्न माग गर्दै उनले एकलौटी रास्वपाले बजेट बनाउँदा राष्ट्रिय बजेट हुन नसक्ने उनले बताए ।

सय रुपियाँको सामान ल्याउँदा भन्सार लगाउने सरकारले जनताको पक्षमा दिने राहतबारे प्रष्ट पार्न उनले सरकारसँग माग गरे। राप्रपाका सांसद खुश्बु ओलीले सुकुमवासी बस्तीको व्यवस्थापन गर्न माग गरिन ।

गरिबको टहरा भत्काएर सरकारले गलत काम गरेको बताउँदै उहाँले सरकार सामान्य मानिसबाट टाढा रहेको सन्देश गएको उनले बताए ।मानिसको जीवन ठुलो हो, सिंहदरवार त संयौ बनाउन सकिन्छ, खोला किनारका मानिसको जीवन हो कि होइन ? उनले जिज्ञासा गरे ।

४८ घण्टाको समेत समय नदिएर डोजर लगाइनु गलत भएको बताउँदै उनले काठमाडौँमा ४८ घण्टामा कोठा खोजेर नपाउने कुरा पनि सरकारले बुझ्नुपर्ने बताए ।

सुकुमवासीको लगत लिएर पुनःस्थापनाको खाका बनाएर बस्ती उठाउनु उचित हुने भए पनि सरकारले गलत कदम उठाएको उनले आरोप लगाए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार