२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

गैरआवासीय नेपाली सङ्घ साधारण सभा

अध्यक्ष ढकालले भने : ' लगानीको सम्भावना छ, ढुक्क हुनुहोस् '

शनिवार , फाल्गुण ३०, २०८२

 

काठमाडौँ, फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२ औँ वार्षिक साधारण सभा (एजीएम) लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अहिले राजनीतिक स्थिरता कायम भएको र लगानीको अनुकूल वातावरण बनेको बताए ।

उनले जलविद्युत्, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन ।

विश्वभर भइरहेका द्वन्द्व र कोभिड १९ जस्ता महामारीको उदाहरण दिँदै उनले जस्तोसुकै परिस्थितिमा पनि मातृभूमि नै अन्तिम गन्तव्य र प्राथमिकता हुने उल्लेख गरे ।

विगतमा केही एनआरएनहरूले व्यक्तिगत रूपमा गरेका लगानीमा सही साझेदार नपाउँदा वा सही ठाउँमा लगानी नहुँदा समस्या आएको गुनासो सुनिए पनि ती केवल अपवाद मात्र भएको उनले स्पष्ट पारे ।

नेपालमा पहिलो पटक दर्ता भएको एनआरएन इन्भेस्टमेन्ट कम्पनी सँग महासङ्घले सहकार्य गरेर एउटा आयोजना अगाडि बढाइसकेको जानकारी दिँदै उनले संस्थागत लगानीमा जोड दिए ।

अध्यक्ष ढकालले भने, अहिलेको विश्व परिवेश हेर्दा, चाहे मध्यपूर्वको द्वन्द्व होस् या कोभिडको समय, अन्तिममा फर्किने ठाउँ भनेको आफ्नै जन्मभूमि हो ।

म आफैँ एक उद्यमी र निजी क्षेत्रको छाता सङ्गठनको अध्यक्षको हैसियतले भन्छु- नेपालमा जुनसुकै व्यावसायिक क्षेत्रमा लगानी गरे पनि जति सम्भावना र अवसर यहाँ छ, सायदै अन्यत्र कतै होला ।

मुलुकमा अहिले स्थायी सरकार बनेको र यसले निजी क्षेत्र तथा एनआरएनले खोजेको राजनीतिक स्थिरता दिएको उनको भनाइ छ ।

महासङ्घकै पहलमा सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेको र स्वदेशी तथा विदेशी लगानी (एफडीआई) भित्र्याउन थुप्रै कानुनहरू परिमार्जन भइरहेको उनले जानकारी दिए ।

नेपालमा पुँजी र सम्भावना छैन भन्ने नकारात्मक भाष्यलाई चिर्न महासङ्घ, सीएनआई, चेम्बर र एनआरएन लगायतको सहभागितामा १० अर्ब रुपियाँको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)’ कम्पनी स्थापना गरी काम सुरु भइसकेको उनले बताए ।

एनआरएनहरूसँग कुनै नयाँ इनोभेसन वा आयोजना भएमा त्यसमा एनडीपी कम्पनीले इक्विटीका रूपमा लगानी गरिदिने घोषणासमेत उनले गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार