२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

अब बन्ने नयाँ सरकारसँग युवाको अपेक्षा

'जेन -जी' पुस्ताको आशा : ' स्वदेशमै रोजगारी र पारदर्शी विकास '

बुधवार , फाल्गुण २७, २०८२

 

काठमाडौँ, फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । '

' जेन-जी' पुस्ताका युवाले आगामी सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र प्रणालीगत सुधारको अपेक्षा गरेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवयुवाको उपस्थितिका कारण पनि युवामैत्री नीति, डिजिटल सेवा, सन्तुलित र पारदर्शी विकास अब बन्ने सरकारको प्राथमिकतामा रहने आशा यो पुस्ताले व्यक्त गरेको छ ।

गत भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध भएको ुजेनजीु प्रदर्शनमा सहभागी भएर घाइते भएका २५ वर्षीय मदन कार्की अब बन्ने सरकारले युवापुस्ताको माग र मर्मलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

निर्वाचनमा मतदान गरेर फर्किएपछि उनी अब बन्ने सरकारप्रति सकारात्मक परिवर्तनको आशा राखेर आफू निर्वाचनमा सहभागी भएको बताउँछन ।  कार्की सरकार र ुजेनजीु आन्दोलनका समूहबीच भएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने पक्षमा  छन । 

नेपालीले आफ्नै देशभित्र सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनोस् । सुशासन कायम होस् र भ्रष्टाचारको अन्त्य होस् । अब बन्ने सरकारले आन्दोलनका क्रममा भएका घटनाका दोषीलाई कारबाही गर्नुपर्छू, उनले भने । उक्त आन्दोलनका क्रममा घाइते भएकी २० वर्षीया लिजा अधिकारी अहिले पनि अस्पतालमा उपचाररत छिन ।

उनी अस्पतालको शय्याबाटै अब बन्ने सरकारले युवाका माग कार्यान्वयन गर्ने अपेक्षा व्यक्त गरे । अधिकारी भ्रष्टाचार अन्त्य, पारदर्शिता र सुशासनका मुद्दालाई सरकारले कार्यान्वयनमा ल्याउनुपर्ने बताउँछन ।

उनी भन्छन, 'हामीले आन्दोलनमार्फत उठाएका माग पूरा हुनेमा विश्वास छ । सुशासनसँगै देशभित्रै रोजगारी सिर्जना गर्न सरकारले ध्यान दिनुपर्छ ।' रामेछाप स्थायी घर भई काठमाडौँ बस्दै आएकी २२ वर्षीया सुजता कार्कीका अनुसार जेनजी आन्दोलनपछि युवामा राजनीतिप्रतिको चासो बढेको छ ।

अब बन्ने सरकारले युवाका लागि 'पार्टटाइम' रोजगारीको व्यवस्था गर्ने र विकट तथा पिछडिएका क्षेत्रलाई पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने उनको सुझाव छ । उनी भन्छन, ' देशमा रोजगारीको अवसर हुनुपर्छ । विदेश जानुपरे पनि कामका लागि होइन, भ्रमणका लागि मात्र जाने अवस्था बनोस् ।'

दोलखाका २३ वर्षीय विशाल बुढाथोकी अब बन्ने सरकारले नीतिगत सुधार र पूर्वाधार विकासलाई गति दिनुपर्ने धारणा राखे । गाउँ र सहरबीचको विकास असन्तुलन हटाउन सरकारले प्राथमिकता दिनेमा उनी विश्वस्त छन । सहरमा विकास देखिए पनि गाउँमा सो स्तरको विकास नभएको उनको तर्क छ ।

विदेशमा अध्ययन गर्ने योजना बनाएएका बुढाथोकी अध्ययनपछि स्वदेश फर्केर व्यवसाय गर्ने वातावरण बन्ने अपेक्षा छ । काठमाडौँका २७ वर्षीय विनय ढुङ्गाना डिजिटल सरकार (डिजिटल गभर्नेन्स) र उत्पादनमुखी अर्थतन्त्रमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिए ।

उनले भने, 'सरकारी सेवा प्रवाह सरल र सहज बन्ने अपेक्षा छ । सामान्य कामका लागि भनसुन वा अतिरिक्त रकम तिर्नुपर्ने अवस्था अन्त्य हुनेमा म विश्वस्त छु ।'

दोलखाका २४ वर्षीय किरण बुढाथोकी जनताले परिवर्तनका लागि मत दिएको स्मरण गराउँदै प्रणाली विकास भएपछि मात्र विकास प्रभावकारी हुने बताउँछन । पर्यटन, जलविद्युत् र कृषिलाई सम्भावनाको क्षेत्रका रूपमा अघि बढाउनुपर्ने र राजनीतिक दलले आफ्ना घोषणापत्र कार्यान्वयन गर्नुपर्ने उनको माग छ ।

खोटाङकी १९ वर्षीया सलिना राई युवा विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नु अबको सरकारको मुख्य जिम्मेवारी भएको बताउँछन । स्वदेशमै भरपर्दो रोजगारी नहुँदा युवा अन्योलमा परेको उल्लेख गर्दै उहाँ अबको सरकारले रोजगारी सिर्जना गर्नेमा आशावादी छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार