२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

समानुपातिकतर्फको सिट बाँडफाँट सुरु

मत सिटमा कसरी बदलिन्छ ? : यस्तो छ ' सेन्ट लग' सूत्र

बुधवार , फाल्गुण २७, २०८२

 

काठमाडौँ, फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १६५ सिटकै नतिजा सार्वजनिक भइसकेको छ । अब समानुपातिकतर्फको सिट बाँडफाँट कसरी हुन्छ भन्ने चासो बढेको छ ।

निर्वाचन आयोगले दलले प्राप्त गरेको सदर मतलाई सिटमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय रूपमा अभ्यासमा रहेको ' सेन्ट लग' विधिको प्रयोग गर्ने जनाएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक गरी दुईवटा निर्वाचन प्रणाली अवलम्बन गरिएको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सम्पूर्ण देशलाई एउटै निर्वाचन क्षेत्र मानी दलले बन्दसूचीमार्फत उम्मेदवारी दिने गर्छन् । यस प्रणालीमा दलले प्राप्त गरेको कुल सदर मतका आधारमा सिट सङ्ख्या निर्धारण गरिन्छ ।

सेन्ट लग विधि ?

घिमिरेका अनुसार दलले पाएको सदर मतलाई बिजोर सङ्ख्या (१, ३, ५, ७, ९, ११, १३ आदि) ले निरन्तर भाग गरिन्छ । यसरी भाग गर्दा आउने भागफललाई ठुलोबाट सानो क्रममा मिलाएर राखिन्छ ।

समानुपातिकतर्फ जम्मा ११० सिट हुने भएकाले माथिबाट गन्दै जाँदा सबैभन्दा ठुला ११० वटा भागफल छानिन्छन् । ती ११० वटा ठुला भागफल कुन- कुन दलको भागमा पर्छन्, सोही आधारमा दलले सिट प्राप्त गर्छन् ।

बढी मत ल्याउने दलको भागमा धेरै ठुला भागफल पर्ने भएकाले उनीहरूले धेरै सिट पाउँछन् भने कम मत ल्याउनेले थोरै सिट प्राप्त गर्छन् । यसै विधिलाई प्राविधिक रूपमा सेन्ट लग मेथड भनिन्छ ।

सिट निर्धारणपछिको प्रक्रिया सिट सङ्ख्या यकिन भएपछि दलले कानुनले तोकेको समावेशी सिद्धान्त (आदिवासी जनजाति, मधेसी, खस आर्य, थारु, दलित आदि) बमोजिमको क्लस्टर मिलाएर तीन दिनभित्र आयोगमा नाम सिफारिस गर्नुपर्ने हुन्छ ।

दलले पठाएको नाम बन्दसूचीको क्रम र समावेशी कानुन बमोजिम भएरनभएको निर्वाचन आयोगले जाँचबुझ (भेरिफिकेसन) गर्छ ।

प्रक्रिया कानुनसम्मत देखिएपछि मात्र अन्तिम नामलाई निर्वाचित भएको घोषणा गरी प्रमाणपत्र वितरण गरिने सूचना अधिकारी घिमिरेले जानकारी दिए ।  - गाेरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार