काठमाडौँ, पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी दिनमा आफूहरु जेन–जीले मागेको सुशासनलाई पनि समेत ल्याकत राख्ने बताएका छन् ।
आइतबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सम्बोधन गर्दै उनले जेन- जीले आन्दोलनमा लोकतान्त्रको समाप्ति नमागेको बताए ।
' तपाईंहरुले माग्नु भएको थियो सुशासन । तपाईंले माग्नुभएको थियो राजनीतिक नेतृत्व जमेको पोखरी होइन बगेको नदी जस्तो होस् भनेर चाहनुभएको थियो,' उनले भने, 'हामीले त्यसैका लागि संकल्प गरेका हौं ।'
' हामी तपाईंले मागेको सुशासनलाई पनि सम्बोधन गर्ने ल्याकत राख्छौं अबको दिनमा । अनि हामी जमेर बसेको पोखरी जस्तो भएर बसेको नेतृत्वलाई पनि बगेर जानुपर्छ भनेर सन्देश पनि बुझाउने ल्याकत राख्दछौँ ।'
उनले जेन- जीहरु अन्तरिक्षबाट आएको नभई भाइबहिनीहरु र छोराछोरी रहेको बताउँदै भदौ २३ को घटना इतिहासमा एउटा भुल भएको समेत बताए ।
जेन- जी कोही अन्तरिक्षबाट आएका थिएनन् । हाम्रै काखमा, हाम्रा भाइबहिनीहरु थिए ।
हाम्रा छोराछोरीहरु थिए,' उनले भने, ' भदौको २३ मा इतिहासमा एउटा ठूलो भुल भएकै हो । त्यसपछिका कैयौं रात हामी निदाउन सकेनौँ । आज पनि आफैंलाई प्रश्न गर्छु, २३ गतेका दिन केवल संसद् भवन तोडिन दिएको भए के फरक पर्थ्यो होला ?