नेपाली कांग्रेस
महामन्त्री थापाले भने : ' महाधिवेशन नगरी कांग्रेस चुनावमा जाँदैन '
काठमाडौं, पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशन नगरी कांग्रेस चुनावमा नजाने बताएका छन्। पार्टी कार्यालयमा जारी कार्यसम्पादनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाधिवेशन आलटाल गर्ने मञ्जुरी नरहेको बताए।
' महाधिवेशन आलटाल गर्ने विषयमा हामी मन्जुर छैनौं। महाधिवेशनका लागि चाहिने केही कुरा नगर्ने अनि महाधिवेशन छलछाम गर्ने काम हामी स्वीकार्दैनौं,' उनले भने, 'महाधिवेशन नगरिकन, नेतृत्व चयन नगरिकन कांग्रेस चुनावमा जाँदैन। '
महाधिवेशन नगर्ने प्रयास गरिए आफूसँग वैकल्पिक बाटोहरू पनि भएको महामन्त्री थापाले दाबी गरे। 'तर, म अहिल्यै वैकल्पिक बाटोमा जान चाहन्न,' उनले भने। उनले सभापति शेरबहादुर देउवालाई महाधिवेशनका लागि भूमिका खेलिदिन आग्रह पनि गरे। सभापति देउवाले कार्यवाहकको जिम्मेवारी सुम्पिए पनि त्यो काममात्रको भएको उनले आरोप लगाए।
' पार्टीको सर्वोत्तम हित गर्ने काम सभापतिको हो। पार्टीको अधिवेशन गराउने सम्बन्धमा उहाँले भूमिका खेल्नुपर्छ। ' जसरी उहाँले आफू नेतृत्व सुम्पिने कुरा गरेर सबैको मन जित्ने काम गर्नुभएको थियो, त्यसरी यो महाधिवेशन सम्पन्न गर्ने भूमिका पनि खेल्नुपर्छ, उनले भने।
महामन्त्री थापाले निर्वाचन जाँदा कांग्रेसले महाधिवेशन त गर्न सकेन भन्ने आरोप खेप्न नपरोस् भनेर सभापतिको ध्यानाकर्षण पनि गराए। उनले संसद पुनर्स्थापनाको विषय अदालतको रहेको र कांग्रेसले फागुन २१ को निर्वाचनमा जाने निर्णय गरेको बताए। त्यस्तै महामन्त्री थापाले कार्यतालिका संशोधन गरेर भए पनि महाधिवेशन गर्नुपर्ने जिकिर गरे।
उनले १६ गते हुने भनिएको वडा अधिवेशनलाई २१ र २१ गते हुने भनिएको क्षेत्रीय अधिवेशनलाई २१ गते सार्न सकिने बताए। तर, महाधिवेशनको मिति चलाउन नपाउने उनले अडान कसे।
उनले वडा र क्षेत्रको अधिवेशन सकेर पनि महाधिवशन गर्न सकिने बताए। पालिका, जिल्ला र प्रदेश अधिवेशन महाधिवेशन पछि पनि गर्न सकिने र यसअघि गर्दै पनि आएको उनको भनाइ छ। ुयसअघि पनि थुप्रै जिल्ला र प्रदेशको महाधिवेशन केन्द्रीय महाधिवेशन पछि गरेका छौं।
महाधिवेशन एउटै अवस्थामा हुँदैन जुनबेला १६५ क्षेत्रका प्रतिनिधि आउँदैन। त्यही भएर वडा र क्षेत्रको अधिवेशन गरेर भए पनि महाधिवेशन गर्नुपर्छ,ु उनले भने।
त्यस्तै क्रियाशील विवाद समाधान गर्न अधिकार सम्पन्न प्रतिनिधि सम्बन्धित ठाउँमा पठाउनुपर्ने प्रस्ताव आफूले गरेको उनले बताए।
'क्रियाशील विवाद भएको र बदनियत राखेको ठाउँमा पार्टीले सर्वाधिकारी सम्पन्न प्रतिनिधि तत्काल फिल्डमै पठाउने। तीन- चार दिन बसेर ती प्रतिनिधिहरूले विधान बमोजिम विवाद समाधान गर्नुहुन्छ।
'नियतबस क्रियासिल नपठाउने भए त्यो ठाउँलाई पुरानै क्रियाशील सदस्यअनुसार काम अगाडि बढाउने वा भाग नै मिल्न नमिल्ने बनाउने,' उनले भने।