काठमाडौँ, पुस । एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन् । पदाधिकारीमा पनि ओली पक्ष हाबी भएको छ । अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल प्यानलबाट दुई जना गोकर्ण विष्ट (उपाध्यक्ष) र योगेश भट्टराई (उपमहासचिव) मात्रै विजयी भए ।
उपाध्यक्षमा ओली प्यानलका ३ जना उम्मेदवार निर्वाचित भएका छन् । ईश्वर पोखरेल प्यानलका एक र स्वतन्त्र एक उपाध्यक्षमा विजयी भएका छन् । ओली प्यानलबाट उपाध्यक्षमा दोहोरिनेहरूमा विष्णु पौडेल र रामबहादुर थापा रहेका छन् । पौडेलले १ हजार ६७५ मत ल्याउँदा थापाले १ हजार ५१६ मत प्राप्त गरे ।
त्यस्तै पूर्वउपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रिय मत (१७३७) प्राप्त गर्दै उपाध्यक्षमा विजयी भएका हुन् । त्यस्तै पूर्वसचिवसमेत रहेका गोकर्ण विष्ट पोखरेल समूहबाट १ हजार ३६८ मतसहित उपाध्यक्षमा विजयी भएका छन् ।
संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवार सूचीमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका रघुजी पन्त पनि १ हजार २५८ मतसहित विजयी भएका छन् ।
महासचिवमा ओली प्यानलकै शंकर पोखरेल निर्वाचित भएका छन् । उनी यसअघि पनि महासचिव थिए । उनी १ हजार २२८ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत ल्याए ।
उपमहासचिवमा ओली प्यानलकै लेखराज भट्ट र रघुवीर महासेठ तथा पोखरेल प्यानलका योगेश भट्टराई विजयी भएका छन् । भट्टले १४५२, महासेठले १३६८ र योगेश भट्टराई १३४८ मत ल्याए ।
९ सचिवमा भने सबै ओली प्यानल नै निर्वाचित भए । जसमा सबैभन्दा धेरै मत महेश बस्नेतले प्राप्त गरेका छन् । बस्नेतले १ हजार ५४४ मत पाए । यस्तै, दोस्रो स्थानमा पद्माकुमारी अर्याल (१५३०) छिन् ।
छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कँडेलले ११८५ र राजन भट्टराईले (११८१) मत ल्याई सचिवमा निर्वाचित भएका छन् । भानुभक्त ढकाल पनि ११०८ मतसहित सचिवमा निर्वाचित भए ।