२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

हुम्लामा हिमपात : 'लिमी गाउँ आवत जावत पूर्ण बन्द'

शुक्रवार , मंसिर २६, २०८२

 

हुम्ला, मङ्सिर । नाम्खा गाउँपालिका - ६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ ।पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर यातायातका साधन गुड्न नसक्ने अवस्था भएपछि लिमी आउजाउ यस वर्षका लागि बन्द भएको हो ।

मङ्सिर दोस्रो हप्ताबाट हिमालपारीको गाउँ लिमी आउजाउ यस वर्षका लागि बन्द भएको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले जानकारि दिए ।

लिमी जाने न्यालु लेकको सडकमा असोज अन्तिम साता परेको हिउँ जमेर सडक बरफमय भएको र त्यसमा यातायातका साधन चलाउन नसकिने अवस्था आएपछि लिमी पूर्ण रुपमा प्राकृतिक बन्दाबन्दी परेको उनले बताए ।

लिमीबाट गाडी ल्याएर एउटा समूह सिमकोटतर्फ आउन खोजेको भएपनि लिमीतर्फको न्यालुमा जमेको बरफमा गाडी अगाडी बढ्न नसकेपछि लिमीनै फिर्ता भएको उनले बताए ।

असोजमा परेको हिउँबाट बनेको बरफले नै सडक अवरुद्ध गरेको र यो वर्ष हिउँ पर्न नै बाँकी रहेको कारण अब आगामी चैत वैशाख महिनासम्म लिमी आउजाउ बन्द भएको उनले बताए ।

यसले गर्दा अब लिमी जान र लिमीबाट आउने सम्भावना नभएको नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए ।

यतिबेला हिउँ कम भएपनि करिब दुई किलो मिटर सडकमा बरफ जमेको कारण यातायात सेवा चलाउन नसकिने अवस्था रहेकोले गाउँपालिकाले जोखिम उठाएर यात्रा नगर्न सवैलाई आग्रह गरेको उनले बताए ।

सडकमा जमेको बरफ फुटाउन सकिने अवस्था समेत रहेको देखिँदैन । त्यसैले जोखिम उठाउनुभन्दा जो जहाँ भएपनि त्यही बस्नुपर्ने सुझाव उनले दिएका छन ।

गाउँपालिका वा पूर्वाधार विकास कार्यालयले डोजर लगाएर सडकमा जमेको बरफ फुटाएर सडक सुचारु गर्न सक्ने सम्भावना पनि कम भएको उनले बताए ।

लिमीका स्थानीय कोही बिरामी परे महङ्गो भाडादर तिरेर हवाई उद्धार गर्नुको अन्य बिकल्प भने देखिदैन । घाम लागेको भएपनि न्यालु क्षेत्रमा दिउसै तापक्रम माईनस पाँचसम्म झर्ने गरेको छ । - गोरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार