२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सिमरा घटना

महामन्त्री शर्माले भने : ' जेन-जी भावनाको दुरुपयोग '

' भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ ? '

बुधवार , मंसिर ३, २०८२

 

काठमाडौँ, मङ्सिर । बाराको परवानीपुरमा तय भएको कार्यक्रममा जान लागेका एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई निषेध गरिएपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन् ।

सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले एमालेलाई चुनावमा आउन आग्रह गर्दै वातावरण बनाउनुपर्ने बताएका हुन् । 'सिमरा घटना दुःखद ! प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण- एकफेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?

एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौं ।मधेश प्रदेशमा सही कर्म गरेन त, त्यसविरुद्ध दबाब दिउँ । जेन-जीविरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं,' उनले भनेका छन् ।

साथै जोकोहीलाई पनि भ्रमण गर्ने अधिकार रहेको भन्दै उनले लेखेका छन्, ' तर आफ्ना कुरा राख्न कहीँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन, त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो ।'

उनले सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेन-जी कसैको ञसमाज भ्रमण अधिकारविरुद्ध उभिन नसक्ने पनि बताएका छन् । उनले अगाडि लेखेका छन्, 'अतः सिमरा घटना जेन-जी भावना होइन, त्यसको दुरुपयोग हो ।

निषेधको राजनीति कसैले नगरौं ।' एमाले नेताहरू सिमरा आउने जानकारी पाएपछि जेन-जी युवाहरूले प्रदर्शन गरेका छन् । त्यसक्रममा एमाले समर्थक युवाहरूबीच झडप भएको हो ।

एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको परवानीपुरमा हुने भनिएको कार्यक्रममा सहभागी हुन सिमरा विमानस्थल हुँदै जान लागेको सूचना पाएपछि जेन-जी युवाहरूले प्रदर्शन गरेका हुन् ।

जेन-जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ । बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कर्फ्यु आदेश जारी गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार