वरिष्ठ गीतकार किरण खरेलको पहिलो गीत एदूरका सिताराको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । विसं २०१६ मा वरिष्ठ गीतकार खरेलको लेखन तथा स्व वटुकृष्ण ज्वालाको गायनमा भारतको कोलकातामा रेकर्डिङ भएको उक्त गीत ५३ वर्षपछि गीतकार शशि गुरुङको गायनमा म्युजिक भिडियो निर्माण गरी आज सार्वजनिक गरिएको हो ।
उक्त म्युजिक भिडियो वरिष्ठ गीतकार खरेलकै हातबाट विमोचन गरिएको हो । कार्यक्रममा गीतकार गुरुङले पहिल्यै रेकर्डिङ भएको उक्त गीतलाई नयाँ भर्सनका साथ म्युजिक भिडियोसहित निर्माण गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।
फिल्म निर्देशक एवं सञ्चारकर्मी प्रकाश सायमीले वरिष्ठ गीतकार खरेलको पहिलो चर्चित गीतलाई म्युजिक भिडियोसहित बाहिर ल्याउनु खुसीको कुरा भएको बताउनुभयो ।
तत्कालीन समयमा राजा र जनताले मन पराएका गीतकार खरेलको गीत म्युजिक भिडियोमार्फत सार्वजनिक हुनु आम गीतप्रेमीका लागि गर्वको कुरा हो , उहाँले भन्नुभयो ।
वरिष्ठ गीतकार दिनेश अधिकारीले एदूरका सितारा चर्चित गीत एल्बम बनेर आउनु सबैका लागि खुसीको कुरा भएको बताउनुभयो । गीतको गायन तथा भिडियो सुन्दर ढङ्गले अगाडि आएको उहाँको भनाइ थियो ।
वरिष्ठ पत्रकार राजु सिलवालले छोटो समयमा नै आम नेपालीका प्रिय गीतकार बनेका वटुकृष्ण ज्वालाका बारेमा राज्यले सम्मान गर्न नसकेको गुनासो गर्नुभयो ।
वरिष्ठ सङ्गीतकार राजु सिंहले एदूरका सितारा गीतले नयाँ पुस्ताले पाठ सिक्नुपर्ने बताउनुभयो । सोही अवसरमा गायक गुरुङका भत्किएको दोवाटोमा र तिमी भन्छौँ भने गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो ।