२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज सिहद दिवस 

को हुन् सहिद ? :  " के - के छन त घोषणाका मापदण्ड ? "

आइतवार , माघ १६, २०७८


पूर्णप्रसाद मिश्र


काठमाडौँ, माघ ।  नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ ।
पछिल्लो समय जोसुकैलाई सहिद घोषणा गरिएको भन्दै विरोध हुने गरेको छ । कुनै घटना वा दुर्घटनामा परेकालाई पनि सहिद घोषणा गरिँदा देशका लागि जीवन आहूति दिनेको अपमान भएको भन्दै विरोध हुने गरेपनि सहिदको स्पष्ट मापदण्ड छैन । 
घोषणा गरिएकै सहिदका विषयमा पनि विभिन्न टीकाटिप्पणी हुने गरेका छन् । सहिद घोषणाका लागि राजनीतिक दलका बीचमा प्रतिस्पर्धा चल्ने गरेको देखिन्छ । सहिदको परिभाषा स्पष्ट गर्न र सूची तयार पार्न दुई आयोग गठन भएपनि चित्तबुझ्दो काम हुनसकेको छैन ।
नेपालको पहिलो सहिद लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाविरुद्ध प्रचार–प्रसार गरेको आरोपमा विसं १९३३ फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुण्ड्याएर मारिएको थियो । 
थापा तत्कालीन सैन्य पल्टनमा कार्यरत थिए । यद्यपि थापालाई प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा विसं २०७२ असोज ३ गतेमात्र सहिद घोषणा गरिएको थियो ।
सहिद घोषणा
सहिदको परिभाषा गरी सङ्ख्या निर्धारण गर्न हालसम्म दुईवटा आयोग गठन भए । पूर्वमन्त्री मोदनाथ प्रश्रितको संयोजकत्वमा विसं २०६६ मङ्सिर १६ गते र विसं २०६८ मा नवराज सुवेदीको अध्यक्षतामा गठन भएका आयोगले प्रतिवेदन पनि बुझाए । तर दुवै आयोगले सहिदका बारेमा हुने गरेका विवादलाई अन्त्य गर्न नसकेको सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहाल बताउँछन ।  सहिदकै बारेमा काम गर्ने काम नतोकिए पनि विसं २०४८ मा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको राजनीति पीडित सहायता कोषले पनि यस विषयमा काम गरेको उनले सुनाएका छन । 
त्यससम्बन्धी पुस्तक पनि कोषले प्रकाशन गरेको थियो । रातो रङको भएकाले त्यसलाई अहिले पनि रातो किताब भन्ने गरिएको छ । देश र जनताका लागि माफी नमागी मर्न चाहने चार सहिदलाई पहिलो श्रेणीको सहिद मान्नुपर्ने कार्यदलको संयोजकसमेत रहिसक्नुभएका प्रश्रितले बताए । 
राम्रो काम गर्दागर्दै मर्छु भन्ने थाहा नभए पनि कारणवश मरेका पनि सहिद हुने भनी प्रतिवेदन बुझाइएको उनले सुनाए ।  यस्ता सहिदलाई मार्दैछन् भन्ने थाहा हुँदाहुँदै मर्न तयार भएर छातीमा गोली थाप्ने सहिदको तुलना हुन सक्दैन ।
विसं २०४६ को प्रजातन्त्र पुनःस्थापनाको जनआन्दोलनमा सहादत प्राप्त गर्ने १९ सहिदलाई सम्मानस्वरुप सरकारले जनही रु एक लाख आर्थिक सहयोग गरेको थियो । त्यस्तै विसं २०६२÷६३ को जनआन्दोलनका क्रममा मुलुकभर सहादत प्राप्त गरेका २६ जनालाई सहिद घोषणा गरियो । यी सहिदका परिवारलाई पनि रु १० लाखका दरले आर्थिक सहयोग गरिएको थियो । 
दुईपटकको तथ्याङ्क सार्वजनिकरूपमा खोज्दा पाइए पनि अरु सहिदको सरकारसँग स्पष्ट तथ्याङ्क छैन । विसं २०६२÷६३ को जनआन्दोलनपछि सरकारपिच्छे विभिन्न आन्दोलन र घटनामा निधन भएका व्यक्तिलाई पनि सहिद घोषणा गरियो ।
विसं २०७४ माघ ३ गते विभिन्न आन्दोलनमा मारिएका १९० जनालाई सहिद घोषणा गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल सम्पूर्ण सहिदको तथ्याङ्क सूची सङ्कलन गरी स्पष्ट अभिलेख राख्न सुरु गरेको जनाएको छ  । 
यद्यपि मन्त्रालयसँग हालसम्म कति सहिद घोषणा गरियो भन्नेबारे स्पष्ट जवाफ भने छैन । सरकारले २०६७ असार ९ गते शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सिफारिसमा एक हजार ६१९ जनालाई सहिद घोषणा गरेको थियो । त्यस्तै सरकारले २०६५ पुस ९ गते छ हजार ३४४ जनालाई सहिद घोषणा गरेको बताइए पनि त्यसको आधिकारिक तथ्याङ्क पाउन सकिएको छैन ।
साथै पटक–पटकको तराई–मधेश आन्दोलन र मुलुकभर भएका पहिचानका विभिन्न आन्दोलनमा मारिएका कति व्यक्तिलाई सहिद घोषणा गरियो भन्ने यकिन तथ्याङ्क भेटिँदैन । सरकारले ती आन्दोलनमा मारिएका व्यक्ति र भएको क्षतिबारे यकिन गर्न विभिन्न आयोग गठन ग¥यो । आयोगलाई सहिदको परिभाषा गर्ने जिम्मेवारी पनि तोकियो ।
मुलुकमा पछिल्लोपटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत सहिद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक सहिदको भावनामा ठेस पुगेको सहिद परिवारको गुनासो छ । 
कार्यदलका पूर्वसंयोजक सुवेदी सबै सहिद वीर भए पनि सबै वीर सहिद हुन नसक्ने बताउँछन । मर्छु भन्ने थाहा हुँदाहुँदै छातीमा गोली थाप्नेलाई सहिद र अरुलाई वीर घोषणा गर्नुपर्ने प्रतिवेदन दिएको उनी सुनाउँछन । 
विभिन्न समयमा सहिद घोषणा गरिएकामा कतिपयको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिएको भएपनि ती सबै आधिकारिक तथ्याङ्क गृह मन्त्रालयसँग पनि छैन । 
मन्त्रालयले विसं २०७४ मा विभिन्न आन्दोलनमा मारिएका चार सुरक्षा निकायका दुई हजार ८०७ लाई सहिद घोषणाका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पठाएको थियो । 
जसमा नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४४८, सशस्त्र प्रहरी बलका ३१८ र राष्ट्रिय अनुसन्धान विभागका २३ जना छन् । पछिल्लो समय सहिद घोषणा भएपछि तिनका परिवारलाई राज्यबाट रु १० लाख प्रदान गर्ने गरिएको छ ।
प्रत्येक वर्ष माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी सहिद दिवस मनाइन्छ । 
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा  र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार