काठमाडौँ, बैशाख । अक्सिजनजन्य स्वास्थ्य सामग्री आयातका लागि राष्ट्र बैंकले हालसम्मकै खुकुलो व्यवस्था गरेको छ । कोभिडको दोस्रो लहरको संक्रमण तीव्र रूपमा फैलिएसँगै अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि राष्ट्र बैंकले लचिलो नीतिगत व्यवस्था गरेको हो ।
नयाँ व्यवस्था अनुसार अक्सिजनजन्य स्वास्थ्यसम्बन्धी सामग्री आयात गर्दा हाल तय भएको विदेशी मुद्रा सटहीको सीमा लागू नहुने भएको छ । यस्ता सामग्री आयातमा व्यवसायीले जति रकमको पनि विदेशी मुद्रा सटही सुविधा पाउँछन् । यी सामग्री आयात गर्ने व्यवसायीको बिजनेस क्रेडिबिलिटी इन्फर्मेसन (बीसीआई) पनि नचाहिने भएको छ ।
राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गरी उक्त निर्देशन दिएको हो । हालका लागि २०७८ असार मसान्तसम्मका लागि उक्त सीमा हटाइएको छ । अहिले प्रतीतपत्र बिना ड्राफ्ट र टीटीका माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधा बढीमा एक पटकमा अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्मका लागि मात्र प्रदान हुने व्यवस्था छ ।
अक्सिजनजन्य स्वास्थ्य सामग्री आयातको लचिलो व्यवस्था गर्दै अहिले राष्ट्र बैंकले तीन प्रकारको व्यवस्था गरेको छ । पहिलो, विदेशी मुद्रा सटही सीमा हट्यो । दोस्रो, एक लाख अमेरिकी डलरसम्मको सामग्री आयातका लागि स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित नियामक निकायको अनुमति लिन नपर्ने र तेस्रो, प्रतीतपत्रबिना टीटी र ड्राफ्टबाटै रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
‘स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको सिफारिसमा गरिने कोभिड–१९ सँग सम्बन्धित औषधिजन्य सामग्री तथा स्वास्थ्य उपकरणहरू आयातको हकमा एउटै बीलबिजकबाट अमेरिकी डलर एक लाखसम्मको रकम टीटी र ड्राफ्टको माध्यमबाटै भुक्तानी गर्न सकिनेछ,’ निर्देशनमा भनिएको छ, ‘साथै अमेरिकी डलर एक लाखभन्दा बढीको सटही सुविधा आवश्यक परेका स्वास्थ्य सेवा विभागको सिफारिससहित स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिनुपर्नेछ ।’