काठमाडौं, जेठ । कोरोना भाइरस कोभिड–१९ का कारण प्रायः ठप्प भएको विश्व उड्डयन क्षेत्रले सन् २०२० मा ठूलो अंकको नोक्सानी व्यहोर्ने अनुमान गरिएको छ। यात्रुहरूको माग, यात्रुहरूबाट उठ्ने राजस्व, हवाई इन्धनको मूल्य, अन्य खर्चहरू र कार्गो गरी यी मापनको गणनाबाट आइटाले विश्व उड्डयन क्षेत्रको घाटालाई तथ्यांकमा देखाएको हो।
विश्व हवाई यातायात संगठन(आइटा)को जेनेभास्थित प्रधान कार्यालयबाट मंगलबार सार्वजनिक गरेको वित्तीय परिदृश्यमा संसारको हवाई यातायात क्षेत्रले ८४.३ अर्ब अमेरिकी डलर बराबरको क्षति व्यहोर्र्दै खुद नोफा २०.१ प्रतिशतले ऋणात्मक हुने पनि उल्लेख गरेको छ। समीक्षा अवधिमा यस क्षेत्रको राजस्व संकलनमा पनि ऋणात्मक असर पर्ने स्पष्ट पारिएको छ।
सन् २०१९ मा ८३८ अर्ब अमेरिकी डलर बराबरको राजस्व संकलन गरेको यस क्षेत्रको राजस्व संकलन ५० प्रतिशतले घट्दै ४१९ अर्ब अमेरिकी डलर हुने आइटाको अनुमान छ। सन् २०२१ म भने १५.८ अर्ब अमेरिकी डलर बराबरको वृद्घि हुँदै ५९८ अर्ब अमेरिकी डलर राजस्व संकलन हुने आइटाको तथ्यांकले देखाएको छ।
विश्वमा पर्यटनका दृष्टिकोणले बढी घुमिने एसिया प्रशान्तीय क्षेत्रमा अन्य क्षेत्रमा भन्दा समीक्षा वर्षमा सबैभन्दा बढी २९ अर्ब डलर बराबरको नोक्सानी हुने भन्दै आइटाले क्षेत्रीय विश्लेषण पनि गरेको छ। यात्रुहरूको मागमा पनि ५३.८ प्रतिशतले कमी आउनेछ भने यात्रु क्षमता पनि ३९.२ प्रतिशतले कमी आउने भनिएको छ।
अन्नपूण पाेस्ट लेख्छ, अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुनु र मुलुकहरू लकडाउनमा रहनुले यस क्षेत्रमा यात्रुहरूको माग ह्वात्तै घट्नु नै यस क्षत्रेको सबैभन्दा ठूलो नोक्सानी भएको बताइएको छ। संसारमा नै अप्रिल महिनामा सबैभन्दा कम उडान भएका छन्।
सन् २०१९ को सोही अवधिभन्दा करिब ९५ प्रतिशतभन्दा कमले उडान भएको तथ्यांकमा उल्लेख छ। अहिले एयर ट्राफिक केही सुधारिएको भए पनि सन् २०१९ को भन्दा ५४.७ प्रतिशतले एयर ट्राफिक घट्ने अनुमान रहेको छ। समीक्षा अवधिमा यात्रुहरूको संख्या पनि करिब आधाले घट्ने भनिएको छ।
यात्रुहरूबाट उठाउने राजस्व पनि सन् २०१९ को ६१२ अर्ब अमेरिकी डलरभन्दा कम हुँदै २४१ अर्ब अमेरिकी डलरमा सीमित हुनेछ। राजस्व बढाउनका लागि विमान कम्पनीले परिमार्जित मूल्य निर्धारण गरी यात्रुलाई हवाई उडानका लागि आकर्षित गर्न जरुरी रहेको आइटाको वित्तीय परिदृश्यमा उल्लेख छ। मागको जस्तै गरी एक्कासी नै खर्चको प्रतिशत नघट्ने हुन्छ।
यस आधारमा सन् २०१९ मा विश्व उड्डयन क्षेत्रको कुल खर्च ५१७ अर्ब अमेरिकी डलर रहेकोमा चालु वर्ष ३४.९ प्रतिशतले कमी आउने देखिएको छ। हवाई इन्धनको विषयमा भने उड्डयन क्षेत्रलाई केही राहत हुने देखिएको छ। प्रतिव्यारेल जेट इन्धनको मूल्य ७७ डलर रहेकोमा अहिले ३६.८ डलर प्रतिव्यारेल रहने आइटाको अनुमान छ। कुल खर्चको १५ प्रतिशत हिस्सा इन्धनले ओगट्ने भनिएको छ।
कार्गोमा पनि २०१९ को ५१ म्लियिन टनबाट कमी आई २०२० मा १०.३ मिलियन टनमा सीमित हुनेछ। यात्रुबाहक विमान कम्पनी ग्राउन्डेड हुँदा कार्गोको क्षमतामा भारी गिरावट आए पनि कार्गोको दर भने करिब ३० प्रतिशतसम्म बढ्न सक्ने अनुमान संगठनको छ। कार्गोको दर बढ्दा यसबाट उठ्ने राजस्व अघिल्लो वर्षको १०२.४ अर्ब डलरभन्दा बढेर यो वर्ष ११०.८ अर्ब डलर पग्न सक्नेछ।
सन् २०१९ कार्गोबाट उठ्ने राजस्वको हिस्सा १२ प्रतिशत रहेकोमा यो वर्ष करिब २६ प्रतिशतले बढ्न सक्ने भनिएको छ।
आइटाका महानिर्देशक एवं प्रमुख कार्यकारी अधिकृत एलेक्जेन्डर डी जुनाएकले आर्थिक हिसाबले सन् २०२० उड्डयन क्षेत्रको अहिले सम्मकै सबैभन्दा खराब समय रहने टिप्पणी गरेका छन्।
यसमा थप्दै उनी भन्छन्, ‘यस क्षेत्रले प्रत्येक दिन औसत २३० मिलियन अमेरिकी डलर बराबरको क्षति व्यहोर्दै ८४.३ अर्बको आर्थिक क्षति व्यहोर्ने देखिएको छ। यसको मतलब समीक्षा अवधिमा २.२ अर्ब हवाई यात्रुले मात्र यात्रा गर्नेछन्। हवाई कम्पनीले प्रत्येक यात्रुबाट ३७.४ अमेरिकी डलर बराबरको घाटा व्यहोर्नेछन्। यस कारण पनि सरकारको आर्थिक राहत प्याकेज यस क्षेत्रमा महत्वपूर्ण हुने देखिन्छ।’
विश्वको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको करिब १० प्रतिशत योगदान रहेकोमा यो मुख्य गरेर हवाई उद्योगमा भर पर्ने हुन्छ। आर्थिक पुनरोत्थानका लागि सुरक्षित उडानका उपाय अपनाएर उडान खोल्नुको विकल्प नरहेको भन्दै जनाएकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ) को सुरक्षाको मापनलाई पालन गर्न भनेका छन्।
सन् २०२१ मा भने यात्रुको संख्यामा वृद्घि भइ ३.३८ अर्ब पुग्ने, कुल राजस्व संकलन ४२ प्रतिशतले बढी ५९८ अर्ब अमेरिकी डलर हुने, खर्च कटौतीमा पनि राहत पुग्ने, कार्गोको राजस्व पनि करिब २५ प्रतिशतले वृद्घि भई १३८ अर्ब डलर वृद्घि हुने अनुमान आइटाको छ।
सन् २०२१ जेट इन्धनको मूल्य ५१.८ डलर प्रतिव्यारेल पुग्न सक्ने हुँदा विमान कम्पनीलाई खर्चमा केही चाप पर्न सक्ने पनि भनिएको छ।
एजेन्सीको सहयोगमा