काठमाडौँ, वैशाख । सरकार अहिले ‘रिकभरि’ योजना तयार गर्ने क्रममा रहेको अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताएका छन । प्रतिबद्धता प्राप्त भएका लगानी छिटोभन्दा छिटो ल्याउने, नयाँ लगानीको स्वीकृति छिटो दिने र बजारमा सकेसम्म धेरै लगानी परिचालनको वातावरण बनाउने योजनामा सरकार लागेको जानकारी दिए ।
उनले लकडाउन खुल्ने बित्तिकै आन्तरिक पर्यटन राम्रो हुने, चीनबाट आउने पर्यटक लक्षित कार्यक्रम बनाइने र यो राजनीतिक तहबाट काम गर्ने भएकाले त्यसमा सरकारले काम गर्ने जनाए ।
सरकारले अहिलेसम्म गरेका प्रयासले आन्तरिकतर्फ सङ्क्रमण विस्तारको जोखिम कम रहेको र यसले गर्दा केही व्यवसाय र भौगोलिक क्षेत्रमा खुकुलो बनाउन सकिन्छ कि भनेर विचार भइरहेको जानकारी पनि उनले भने ।
उनले राहतका कार्यक्रम सार्वजनिक गर्दा पहिलो लकडाउनको अवधिमा नै नेपालले सङ्क्रमणको जोखिम पार गर्छ भन्ने सरकारको अनुमान रहेको तर त्यस्तो नभएको उल्लेख गर्दै विश्वका धेरै मुलुकमा भएको सङ्क्रमणको स्थिति हेर्दा हामीले दूरदर्शी दृष्टिकोण र सही निर्णय नै गरेको प्रमाणित भएको बताएका छन ।
नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलद्वारा प्रस्तुत २४ बुँदे सुझाव ग्रहण गर्दै उनले भने, ‘सरकारको क्षमता सीमित छ, राजस्वको स्रोत आयातमुखी छ, त्यो पनि घटेको छ र यसबाट सरकारको आय पनि घटेको छ । ’
उनले अहिले कोष परिचालन र सरकारको ट्रेजरी खर्च गर्ने दुईवटा विकल्प सरकारसँग रहेको भए पनि ट्रेजरी त्यति सहज अवस्थामा नरहेको जनाए ।
उनले अब अनुत्पादक खर्च कम गर्ने र आन्तरिक उत्पादन तथा सेवाको खपत बढाउने नीति सरकारको रहने पनि उल्लेख गरे ।