जलेश्वर, असार । महोत्तरी जिल्लामा रहेको १५ स्थानीय तहले आफ्नो नीति तथा बजेट ल्याएका छन । जिल्लाको १५ स्थानीय तहमध्ये चार नगरपालिका र दुई गाउँपालिकाले वुधबार नै बजेट ल्याए भने अन्यले आज ल्याएका छन ।
यसवर्ष सबै स्थानीय तहले कोभिड महामारीलाई लक्षित गरि स्वास्थ्यमा विगतभन्दा बढी बजेट ल्याएको देखिएको छ ।
मटिहानी नगरपालिकाको सातौ नगरसभाले आर्थिक बर्ष २०७८÷०७९ को लागि चालुतर्फ २० करोड ५० लाख र पुँजीगततर्फ २० करोड २७ लाख गरि कुल बजेट ४० करोड सतहत्तर लाख ५७ हजारको प्रस्तुत गरेको छ ।
नगरप्रमुख हरिप्रसाद मण्डलले कोरोना महामारीबीच पनि सुरक्षा सर्तकता अपनाउँदै सरकार तथा सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गरि बजेट ल्याएको जानकारी दिनुभयो । त्यसैगरी, महोत्तरी गाउँपालिकाले ४१ करोड, सोनमा गाउँपालिकाले ३९ करोड ८४ लाख, लोहारपटटी नगरपालिकाले ६६ करोड ३५ लाख चारहजार १६७, बल्वा नगरपालिकाले ५६ करोड र जलेश्वर नगरपालिकाले ६८ करोड ४४ लाख नौहजार ४१४ को अनुमानित बजेट पेश गरेका छन ।
बिहीबार पिपरा गाउँपालिका, औरही नगरपालिका, एकडारा गाउँपालिका, गौशाला नगरपालिका, भंगहा नगरपालिकालगायतले नीति, कार्यक्रमका साथै बजेट ल्याएका छन ।