२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रदेश २ सरकार : ' नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित'

आइतवार , जेठ ३०, २०७८


जनकपुर, जेठ  । प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित भएको छ ।  प्रदेशसभाको आइतबार बसेको बैठकवाट नीति तथा कार्यक्रम माथि भएको छलफलपछि पारित भएको हो ।
छलफलका क्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा  बैठकमा सदस्यले उठाएका विषयवस्तु र प्रश्नको जवाफ दिएका थिए ।  सो क्रममा मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रममा छुटेका विषय वस्तुलाई  छलफलको क्रममा सदस्यले उठाई दिनु भएकोमा  धन्यवाद  दिए  ।
 प्रदेशसभा सदस्यले उठाउनुभएका विषयलाई संशोधन गरी समावेश गर्ने प्रतिबद्धता जनाएपछि नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो । नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराउनु भएका चार प्रदेशसभा सदस्यमध्ये तीन सांसद शिवचन्द्र चौधरी, सिता गुरुङ, सुन्दरबहादुर विश्वकर्माले मुख्यमन्त्रीको जवाफपछि संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।   
प्रदेशसभा सदस्य दिलीप साहको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत भएपछि सभामुख सरोजकुमार यादवले मुख्यमन्त्री लालबाबु राउतलाई नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव गर्न निर्देशन दिएका थिए । 
नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका विषय वस्तुको सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारको मातहतमा थोरै कार्यालय र त्योभन्दा कम कर्मचारी भएको कारण विगतका वर्षमा बजेट कार्यान्वयनमा समस्या भएको स्वीकार गर]े। 
उनले भने, ‘अव सरकारले प्रदेश लोकसेवामार्फत कर्मचारी व्यवस्थापन गर्ने र अगामी दिनमा यस प्रकारका कमी कमजोरी  हुँदैन । उनले प्रदेश  २ सरकार गत दुइ वर्षमा कोरोना महामारीको नियन्त्रण तथा रोकथाम र महामारीवाट पीडितलाई केन्द्रित गरी बजेट खर्च गरेको उल्लेख गरे । 
मुख्यमन्त्री राउतले कोरोना महामारीको रोकथामका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराखेको भन्दै आठवटै जिल्लावाट पिसिआर परीक्षणको व्यवस्थापन गरेको बताए । 
उनले प्रदेश २ सरकारले आउने दिनमा सरकारी अस्पतालमा कार्यरत चिकित्सकका लागि कम्तीमा ढेडलाख तलव दिने किसिमले नीति ल्याउन लागेको बताए । 
छलफलको क्रममा प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रम राम्रो भएपनि जनतासँग जोडिएका धेरै विषय वस्तु समावेश नभएको र समावेश भएका विषय वस्तु तथा कार्यक्रमको कार्यान्वयन पनि कति हुने भन्ने त्यो चासोको विषय भएको भन्दै कार्यान्वयनको पक्षमा इमान्दार हुन प्रदेश सरकारलाई आगह्र गरेका थिए ।
छलफलको क्रममा २६ प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममाथि आफनो धारणा राखेका थिए । प्रदेशसभाको अर्को बैठक सोमबार एक वजे पुनः बस्ने भएको छ ।     

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार