राजविराज, जेठ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरको चक्रलाई तोड्न जारी निषेधाज्ञाको मौका छोपी दैनिक उपभोग्य खाद्य्यबस्तुमा मूल्य आकाशिएको छ । कोरोना कहरको पीडामा मूल्य बृद्धिले ढाड सेक्न थालेको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रले जिल्लाका बजार क्षेत्रहरुमा गत बैशाख २५ गते रातीदेखि निषेधाज्ञा आदेश जारी गरेपछि खुला रुपमा दैनिक उपभोग्य वस्तु पाइदैन । यसैको मौकामा जिल्लाका ठूलो व्यापारीहरुले दैनिक उपभोग बस्तुका प्रत्येक बस्तुमा प्रति किलो ५० देखि १०० रुपियाँ बृद्धि गरेर बेच्ने गरेको छ ।
एक लिटर दुई सयमा पाइने खानेतेल अहिले ३००÷३२० मा पाइने गरेको राजविराज ६ का उपभोक्ता डोमन साह बताउछन । त्यस्तै किलोको तीन सयमा किन्ने गरेको जिरा अहिले चार सय तिर्नु परेको उहाँको कथन छ । यसैप्रकारले उपभोग्य सामग्रीहरुमा मूल्य बढेको छ ।
सामान्यतया एकसयमा पाइने खाद्यबस्तु १५० मा पाउन थालेको उनले जानकारी दिनुभयो । खाने तेल, जिरा, धनिया, खुर्सानी, चामल, भूजालगायतमा मूल्य बृद्धि भएको उनले बताए ।
गतवर्ष जस्तै यसवर्ष पनि लकडाउन हुने हल्ला चलेका बेला खाद्यवस्तु सस्तोमा भण्डारण गरी अहिले महंगोमा बेच्ने गरेको अर्का उपभोक्ता रमानन्द देवको भनाई छ । निषेधाज्ञाको बहनामा व्यापारीले आफूखुशी मूल्य बढाएर बेच्ने गरेको उनको आरोप छ । निषेधाज्ञामा बजार अनुगमन नहुँदा व्यापारीले मनोमानी गरिदै आएको उनले बताए ।
बजारमा अति आवश्यक दैनिक उपभोग बस्तु खरिद बक्री गर्न दिउँसो ४ बजेदेखि ७ बजेसम्म समय तोकेको छ । ब्यापारीको दावी भने, गाडी सहज रुपमा चल्न दिएको छैन, हामी सिमित गाडीमा ढुवानी गर्दा महँगो पर्ने गरेकोले सामग्रीमा मूल्य बृद्धि गरेर बेच्ने गरेका छौ । अर्को कुरा फैक्ट्रीमा नै महंगो भएकाले सामग्रीको मूल्य बढेको छ । जिल्लाको राजविराजसहित कल्याणपुर, कठौना, भारदह, कञ्चनपुर, फत्तेपुर, बोदेबर्साइन, हनुमाननगर, पातोलगायतका बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्य आकाशिएको छ । नियमित बजार अनुगमन गरी सुपथ र सहज रुपमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन सबैको पहल आवश्यक छ ।