काठमाडौँ, जेठ । भौतिक पूर्वाधारको बिकासमा अब सुरुङमार्ग प्राथमिकतामा परेको छ । आगामी आवको बजेटसँगै देशका विभिन्न स्थानमा सुरुङमार्ग निर्माणको चालनी गरिने भएको हो । आवत जावतमा सहज र सडकको दूरीलाई छोट्याउने यस किसिमको पूवाृधारको बिकासले जनजीवन सहज र बिकासको गतिमा ईमान्दार कार्यान्वयन भए आशलाग्दो पक्ष रहेको बिकास बिश्लेषकको धनाई छ ।
अर्थमन्त्री विष्णु पौडेलले आफ्नो बजेट भाषणका क्रममा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण थालिएसँगै देश सुरुङ युगमा प्रवेश गरेको बताए । बजेटमा उनले धेरैतिर सुरुङ निर्माण र अध्ययनको काम थाल्ने भन्दै योजना अघि सारे।केही वर्षयता सुरुङको अध्ययन गर्न भन्दै बजेट विनियोजन गर्ने गरिए पनि अहिलेसम्म उत्साहजनक रूपमा निर्माणको काम अघि बढ्न सकेको छैन । नागढुंगा–सिस्नेखोला सुरुङ पुरानै आयोजनाभित्र पर्छ ।
बजेट भाषणका क्रममा अर्थमन्त्री पौडेलले अब बन्ने सडकमा सुरुङ प्रविधिको प्रयोगलाई महत्त्व दिइने दाबी गरे । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग दुई वर्षभित्र सञ्चालनमा आउने र यसका लागि ९ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरे । आगामी वर्ष सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान खण्ड, दोलखाको लामाबगर–लाप्चे र धरान–धनकुटा सडक खण्डको धरान–लेउती सुरुङमार्ग निर्माण सुरु गर्न बजेट व्यवस्था पनि गरे।
काठमाडौं–कोटेश्वर खण्डको सवारी चाप व्यवस्थित गर्न तीनकुने–जडीबुटी खण्डमा सुरुङ निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा टोखा–छहरे–गुर्जुभन्ज्याङ, बेत्रावती–स्याफ्रुबेंसी, खुर्कोट–चियाबारी र थानकोट–चित्लाङ सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण प्रारम्भ गरिने अर्थमन्त्री पौडेलले बजेट भाषणका क्रममा बताए ।
पृथ्वी राजमार्गको मझिमटार–शक्तिखोर, पोखरा–बागलुङ राजमार्गको हेम्जा–नयाँपुल, चेपाङ राजमार्गको दुम्लिङ–वाक्सिङ, पूर्वपश्चिम राजमार्गको दुम्कीबास–बर्दघाट, कोहलपुर–सुर्खेत राजमार्गको बबई–छिन्चु, सुर्खेत–दैलेख सडकको कपासे–सियाकोट, पाल्पा–तम्घास सडकको प्रभास–जोर्ते र बीपीनगर–खुटिया–दिपायल खण्डमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने जनाइएको छ ।
पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले भने पूर्वाधारमा कुनै पनि आयोजना अगाडि बढाउन नसक्ने गरी बजेट ल्याइएको सञ्चारकर्मीलाई प्रतिक्रिया दिए ।
‘केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको पहिलो बजेटमा पनि सुरुङका कुरा थिए,’ उनले भने, ‘१५ किमिसम्म सुरुङ बनाउने भनेर बजेटमा राखियो । तर अहिलेसम्म कुनै पनि सुरुङ निर्माण अघि बढ्न सकेको छैन ।’ नेपालको आफ्नै क्षमताका आधारमा कहीं पनि सुरुङ निर्माण सम्भव नभएको उनको भनाइ छ ।