२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

सुरु भयो इन्द्रजात्रा : ' लिङ्गो' हनुमानढोका ल्याइयो

शनिवार , आश्विन ३, २०८३

 

काठमाडौँ, असोज ।

इन्द्रजात्राका लागि ल्याइएको लिङ्गो (योँसी) शुभ साइतमा भोटाहिटीबाट नगर प्रवेश गराइएको छ ।

इन्द्रजात्राको मुख्य प्रतीकका रूपमा रहेको लिङ्गोलाई परम्परा अनुसार शनिबार बिहान ८ः०५ बजेको शुभ साइतमा विधिपूर्वक भोटाहिटीबाट हनुमानढोका दरबार परिसरमा ल्याइएको हो ।

लिङ्गो नगर प्रवेश गराउने क्रममा बाजागाजासहित सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । नगर प्रवेशका क्रममा स्थानीयवासी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहित लिङ्गो ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा सुरु हुन्छ ।

इन्द्रजात्रा काठमाडौँलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा मनाइने जात्रा हो ।

इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा महत्त्वपूर्ण जात्रा हो । १२औँ देखि १८औँ शताब्दीसम्म निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्रलाई यस जात्राको उद्गमस्थल मानिन्छ ।

भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरु भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न विधि, पितृ स्मरण तथा रथयात्रासहित यो जात्रा सम्पन्न गरिन्छ ।

सनातन धर्मावलम्बीका प्रमुख तथा प्रचलित चाड दशैँ, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविद्हरूले पुरानो चाडका रूपमा लिने गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार