काठमाडौं, भदाै ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाल–चीनबीचको प्रमुख व्यापारिक मार्ग रसुवागढी ;केरुङ नाका अवरुद्ध भएपछि यसको प्रत्यक्ष असर नेपालको व्यापार, उद्योग र आपूर्ति प्रणालीमा पर्ने भएको छ।
बाढीले मितेरी पुल बगाउनुका साथै रसुवा क्षेत्रमा करिब ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको वेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेँसी रसुवागढी जोड्ने सडकमा ठूलो क्षति पुगेको छ। गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत अवरुद्ध छ।
पृथ्वी राजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ। बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा ४१ वटा पुल पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। सरकारले सडक खुलाउन उपलब्ध १० वटा र निजी क्षेत्रबाट थप १० वटा गरी २० वटा उपकरण परिचालन गरेको जनाएको छ।
उपलब्ध सातवटा बेलिब्रिजमध्ये ५० मिटरसम्म लम्बाइ भएका पुलसमेत आवश्यक स्थानमा प्रयोग गर्ने तयारी छ। नाका बन्द हुँदा चीनसँगको व्यापार मात्र प्रभावित भएको छैन, नेपालमा चीनबाट दैनिक उपभोगदेखि उद्योग, निर्माण, कृषि, प्रविधि र स्वास्थ्य क्षेत्रका लागि आउने ठूलो परिमाणका सामानको आपूर्ति नै प्रभावित हुने अवस्था बनेको छ।
रसुवागढी नाका चीनबाट नेपालमा सामान भियाउने प्रमुख व्यापारिक मार्गमध्ये एक भएकाले यसको अवरोधले बजारदेखि उद्योगसम्म प्रत्यक्ष असर पार्ने देखिएको हो। नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार बाढीपछि सीमावर्ती क्षेत्रमा रहेका नेपाली चालक, व्यवसायी तथा अन्य व्यक्तिसँग सम्पर्क टुटेको छ।
यसले आउँदै गरेको दसैं तिहारमा प्रयोग गरिने वस्तुको आयातसँग सम्बन्धित सबैलाई असर पर्ने उनले बताए। चीनबाट नेपालमा उद्योग तथा निर्माणका लागि आवश्यक मेसिनरी र पार्टपुर्जा, स्टिल तथा फलामजन्य सामग्री, विद्युतीय उपकरण, दूरसञ्चार उपकरण, रासायनिक मल तथा विभिन्न औद्योगिक कच्चा पदार्थ आयात हुने गरेका छन्।
त्यस्तै कम्प्युटर तथा पार्टपुर्जा, इलेक्ट्रोनिक्स, टेलिभिजन तथा भिडियो उपकरण, स्मार्ट कार्ड, सोलार प्यानललगायत प्रविधिसँग सम्बन्धित सामग्री पनि चीनबाट नेपाल भित्रिने गरेका छन्। यी वस्तुहरूको आपूर्ति लामो समय अवरुद्ध भएमा उद्योगको उत्पादनदेखि निर्माण आयोजनासम्म प्रभावित हुन सक्ने व्यवसायीहरूको चिन्ता छ।
चीनबाट नेपालमा खाद्य तथा कृषि सामग्रीसमेत ठूलो मात्रामा आउने गरेको छ। लसुन, स्याउ, गहुँजन्य उत्पादन, चाउचाउ तथा अन्य खाद्य सामग्रीमा प्रयोग हुने स्वाद र मसलाजन्य वस्तुका साथै विभिन्न कृषि सामग्री चीनबाट आयात हुने गरेका छन्।
औषधि, चिकित्सा उपकरण तथा स्वास्थ्य सामग्रीको आपूर्तिमा पनि चीनको भूमिका महत्वपूर्ण छ। त्यसैले रसुवागढी नाका लामो समय बन्द हुँदा यसको प्रभाव व्यापारिक क्षेत्रमा मात्र सीमित नभई कृषि, स्वास्थ्य र खाद्य आपूर्तिसम्म पुग्न सक्ने देखिन्छ।
४ सय चालक तथा व्यवसायीसँग सम्पर्कविहीन नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार बाढीपछि सीमावर्ती क्षेत्रमा रहेका नेपाली चालक, व्यवसायी तथा अन्य व्यक्तिसँग सम्पर्क टुटेको छ।
अन्य क्षतिभन्दा अहिले मानवीय क्षतिलाई ठूलो कुरा लिएका छौँ,’ कार्कीले भने। उनका अनुसार करिब ३ देखि ४ सय चालक तथा अन्य सम्बन्धित व्यक्ति सम्पर्कविहीन भएका छन्।