२०८३, आश्विन २६ गते

सोमवार, आश्विन २६ गते २०८३

 सामाचकेवा पर्व  : '  भाई- बहिनीको प्रेमको प्रतीक, तराइमा मनाइँदै '

बिहिवार , कार्तिक २२, २०८१

 

धनुषाधाम,  कात्तिक ।   ‘बिहुली आगे बिहुली... सामा जाइछै ससुरा किछ गहनो चाही गे डिहुली’, राति अबेरसम्म यस्तै गीतले गुञ्जयमान हुने मैथिल समुदायमा दाजुभाइ तथा दिदी बहिनी बीचको पवित्र प्रेमको प्रतीकका रूपमा मनाइने सामाचकेवा पर्व बुधबारदेखि सुरु भएको छ । 

आज कात्तिक शुक्ल पञ्चमीदेखि विधिवत् रूपमा सुरु भएको यो पर्व दश दिनसम्म चल्नेछ ।

दिदी बहिनीले दाजुभाइको दीर्घायु एवम मङ्गल कामना गर्ने र एकापसमा सम्बन्ध प्रगाढ हुने धार्मिक एवम् सांस्कृतिक मान्यता रहिआए अनुसार यो पर्व मनाउने गरिन्छ भने पर्वमा माटाका कलात्मक मूर्ति बनाइने गरिन्छ । 

मूर्ति बनाउन भाइटीकाकै दिन माटो ल्याएर यो पर्वको शुभारम्भ गरिन्छ । छठ पर्वको खरनादेखि मूर्ति बनाउने कार्य सुरु गरी कात्तिक पूर्र्णिाको मध्यरात यो पर्व समापन गरिन्छ ।
 
माटोबाट निर्माण गरिएका मानव, पशु र चराका मूर्ति काँचो अवस्थामा रहन्छ भने त्यसलाई ‘सामा’ भन्ने गरिन्छ र आगोमा पकाउने मूर्तिलाई ‘चकेवा’ भनिन्छ । 

यो पर्व मनाउने सिलसिलामा पहिलो दिन माटोको सिरी सामा बनाइन्छ । दोस्रो दिन चकेवा र त्यसपछि एकैपङ्क्तिमा बसेका सातवटा चराको मूर्ति बनाइन्छ ।

त्यसपछि क्रमिक रुपमा खररुचि भैया, बाटो बहिनो, दुईमुखे चरा, भाइबहिनी विमुख मूर्ति, परालको वृन्दावन जङ्गल र सनपाटको चुगिला अनिवार्य रूपमा बनाउने गरिन्छ । यसका साथै विभिन्न प्रकारका अन्य मूर्ति कलात्मक ढङ्गले बनाउने गरिन्छ । ती मूर्तिलाई विभिन्न आकर्षक रङले रङ्गाइन्छ । यो पर्वका बेला माटाका कलात्मक मूर्ति बनाउन जान्नेले अरूलाई यो सीप सिकाउने गर्दछन् ।

यो पर्वको सबभन्दा रमाइलो पक्ष दिदीबहिनीले आफ्ना मनका कुरा निर्धक्क भएर गीतको माध्यमबाट प्रकट गर्छन् । आ–आफ्ना दाजुभाइको प्रशंसा गर्दै कुनै वस्तु माग गर्नु पर्यो भने गीतको माध्यमले गर्छन् । 

नातागोतामा पर्ने सम्पूर्ण दाजुभाइको गीतमा नाम उल्लेख गरी मध्यरातसम्म गीत गाउने गरिन्छ ।

यसअवसरमा दिदिबहीनीले गाइने गीत यस्तो छ  : 


‘गामके अधिकारी तोहे बड्का भइया हो ।
       ... गामके अधिकारी तोहे बढ्का भइया हो ।
        भैया दस हाथ पोखरी खुनाई दिय चम्पा फुल दगाय दिय हे’
 
अर्थात गाउँको प्रमुख व्यक्ति मेरो दाजुभाइ होस् र उसले गाउँमा दशवटा पोखरी बनाई देओस । यो गीतमा विकास निर्माणको काम गरोस् भन्ने कामनासमते गरिएको छ ।

त्यसैगरी :

 
‘गे माइ कौने भइया जेता अटना पटना
कौने भइया जयता मुङ्गेर,
गे माइ कौने भइया जेता अटना पटना कोन भैया जेता मुङ्गेर
कोने भइया जेतै शहर दरभंगा कोने जेता मुङ्गेर
गे माइ कौने भइया जेता अटना पटना कोन भइया जेता मुङ्गेर’

 
अर्थात् कुन कुन दाजु सहर जानुहुन्छ । त्यहाँबाट मैले माग गरेका सामानहरू ल्याइदिन आमासँग भन्छु भन्ने यो गीतको अर्थ हो ।

यसपछि आँगनमा चामलको पीठोबाट बनाइएका कलात्मक अरिपनमा उनीहरूले निर्माण गरेका माटोका मूर्ति र सामाचकेवालाई चढाउनका लागि प्रसादका रूपमा नयाँ धानको च्यूरा, धानको बाला, केरा, दही, चिनी र मिठाइ पान, सुपाडी, अरुवा चामलसमेत बाँसको टोकरीमा राखेर पूजा गरिन्छ । त्यसपछि दिदीबहिनी गीत गाउँदै उक्त टोकरी बाकेर चौराहामा पुग्दछन् ।

यसरी चौराहामा दाजुभाइ र दिदीबहिनी जुटेपछि सामा नाम गरेको मूर्तिलाई फोड्नेकार्य सबभन्दा पहिले भाइबाट गराइन्छ ।

त्यस अवसरमा दिदीबहिनीले दाजुभाइलाई आशीष दिँदै यस्तो गीत गाउँछन् : 

 
‘जीवऽ जीव’ जीवऽकी मोर भैया जीव’
कि तोर भैया जीव
जैसन धोवियाके पाठ तैसन भैयाक पीठ
जैसन करडिक थम्ह तैसन भैयाक जाँघ’

 
अर्थात् मेरो दाजुभाइ वर्षौ—वर्षसम्म बाँचून, धोबीले लुगा धुने घाटजस्तै पिठयूँ र करडिकको बोटजस्तै तिघ्रा बलियो रहोस् ।

त्यसपछि सामाचकेवाको पुनः पूजा गरी केही मूर्ति उनीहरू एकापसमा साटासाटसमेत गर्छन् । केही मूर्ति फोड्छन् । लट्ठीमा बनाइएको चुगिलामा आगो लगाएर यो पर्व सम्पन्न गरिन्छ ।

पुराणमा उल्लेख गरिएअनुसार कृष्णकी छोरी सामा वृन्दावनको जङ्गलमा घुमफिर गर्न गएको बेलामा ‘डिहुली’ नामक नोकरानीले कृष्णसमक्ष सामा वनका तपस्वी ऋषिसित रमण गरिरहेको झुटो कुरा लगाइन् । 

कृष्ण आवेशमा आएर वास्तविक कुरा नबुझी छोरी सामालाई चरा हुने श्राप दिए । 

श्रापका कारण चरा बनेकी बहिनीलाई मुक्त गराउन दाइ साम्बले घोर तपस्या गरी पुनः मानव चोलामा फर्काएको विश्वास गर्ने गरिन्छ । त्यसैको स्मरणमा पर्व मनाउने गरिएको जनाकारहरू बताउँछन् ।  रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार