काठमाडौं, असार । शान्ति प्रक्रियाका बाँकी काम सक्न संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई संशोधन गर्न सत्तारुढ गठबन्धनमा सहमति भएको छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा शान्ति प्रक्रियाबारे छलफल भएको हो ।
सरकारका प्रवक्ता एवम संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्याउनको निम्ति छलफल केन्द्रित भएको जानकारी दिए ।
उनका अनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले शान्ति प्रक्रियामा अहिलेसम्म भएका कामबारे समीक्षात्मक प्रतिवेदन पेस गरेका थिए। कानूनमन्त्री बन्दीले आफूले अहिलेसम्म भएको प्रगतिबारे ब्रिफिङ गरेको र चाँडै संक्रणकालीन न्याय सम्बन्धी कानून संशोधन गर्ने सहमति भएको जानकारी अनलाइनखबरलाई दिए ।
मैले अहिलेसम्म के के भयो भनेर ब्रिफ्रिङ गरेँ , उनले भने, चाँडो भन्दा चाँडो कानून संशोधन गरेर जाने सहमति भएको छ। उनले थपे, एउटा परामर्श बाँकी छ ।
त्यो सकेर आएपछि कानून संशोधनको दिशामा अगाडि बढ्ने सहमति भएको छ । कानून अभावका कारण सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले काम गर्न नसकेको बताइने गरेको छ ।