महेन्द्रनगर, असार । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन सुरुआत गर्ने र डडेल्धुरामा मेडिकल कलेज स्थापनाको सम्भाव्यता अध्ययन तथा गुरुयोजना निर्माण गर्ने कार्य अगाडि बढाएको बताउनुभएको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयद्वारा आज आयोजित दोस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेटसमेत विनियोजन गरेको बताउनुभयो ।
विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यवहारिक, जीवनपयोगी तथा समाजको विकास र रुपान्तरणमा सहयोगी हुनुपर्नेमा उहाँको जोड थियो ।
लोकतान्त्रिक प्रणालीलाई थप सबल र सुदृढ बनाउन र अर्थतन्त्रलाई तीव्र रुपान्तरण गर्न, युग सुहाउँदो, वैज्ञानिक एवम् प्राविधिक जनशक्तिको आवश्यकता पर्दछ, प्रधानमन्त्री देउवाले भन्नुभयो, आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले समयानुसार शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्नुपर्छ ।
सुदूरपश्चिम विश्वविद्यालयले यहाँका नागरिकको उच्च शिक्षाको पहुँच विस्तार गर्न महत्वर्पूण भूमिका निर्वाह गर्र्दै आएको बताउँदै उहाँले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरी मुलुकको खाँचो पूरा गर्न सहयोग पुयाएको धारणा राख्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले दीक्षित विद्यार्थीलाई पदक वितरणसमेत गर्नुभयो । समारोहमा भारतको कुमाउँ विश्वविद्यालयका कुलपति प्राध्यापक नरेन्द्रकुमार जोशी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतले आफ्नो धारणा राख्नुभएको थियो ।