Logo

सोमवार, बैशाख २७ २०७८May 10 2021

images

उपत्यका सभ्यताको स्रोत : "वाग्द्वारमा आज स्नान गर्नेको भीड"

उपत्यका सभ्यताको स्रोत : "वाग्द्वारमा आज स्नान गर्नेको भीड"

बुधवार, बैशाख १ २०७८

  • 1.1K
    SHARES

  • उपत्यका सभ्यताको स्रोत  :  "वाग्द्वारमा  आज  स्नान गर्नेको भीड"

    काठमाडौँ, वैशाख । नयाँ वर्षको अरुणोदयसँगै मानिसको भीड शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्राकृतिक मनमोहकतातर्फ अघि बढिरहेको छ । यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन स्नान मेला लाग्छ ।

    मेला भर्न आज बिहानैदेखि भक्तजनको भीड निकुञ्जतर्फ लागेको हो । कति भक्तजन भने चैत मसान्तमै यहाँ रात बस्ने गरी पुगिसकेका छन् । राजधानीको कोलाहलबाट नजिकैको शान्त एवं रमणीयस्थलमा नयाँ वर्ष मनाउन मानिसको भीड लागेको छ । तीन वर्षअघि वाग्द्वार एवं यसको प्रवेशमार्ग सुन्दरीजलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वाग्द्वारको प्रचारप्रसार गर्न गोकर्णेश्वर नगरपालिकोले महोत्सवको आयोजना गरेको थियो ।

    गत वर्षदेखि भने कोरोना महामारीका कारण स्थगन गरिए पनि कोरोना शान्त भएपछि पर्यटन प्रवद्र्धनका लागि निरन्तरता दिइने नगरपालिकाले जनाएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र काठमाडौँ र नुवाकोट जिल्ला एवं गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको वाग्द्वार नव वर्षका दिन स्नानका लागि पवित्र तीर्थस्थल मानिन्छ ।

    आजको दिनमा यहाँ आई स्नान गरेमा पाप पखालिई अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको वैशाख सङ्क्रान्तिका दिन वाग्मतीमा स्नान गरेमा मनकामना सिद्ध हुने धार्मिक विश्वाससमेत छ । वैशाख महिना र वाग्मतीको सम्बन्ध रहेकाले प्राचीनकालदेखि नै चोभारदेखि वाग्द्वारसम्म वाग्मती तीर्थयात्रा गर्ने विधान छ ।

    विसं २०३० देखि लोप भएको यो जात्रालाई पशुपति क्षेत्र विकास कोषले २०७५ देखि निरन्तरता दिएको छ । यस वर्षको तयारी पनि शुरु गरिएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताउनुभयो । वाग्द्वारको उत्पत्तिका विषयमा विभिन्न किंवदन्ती प्रसिद्ध छन् । सृष्टिको शुरुमा ब्रह्माजी मृगेन्द्र शिखरको मध्यभागमा तपस्या गरेर बस्दा पानीको अभाव भयो ।

    ब्रह्माजीले शिवजीको ध्यान गरी शिवजीको वाग् अर्थात् बोलीबाट प्रकट भएकाले यस नदीको नाम वाग्मती रहेको नेपाल माहात्म्यको हिमवत्खण्डलगायतका धार्मिक ग्रन्थमा व्याख्या गरिएको वेदमा विद्यावारिधि गर्नुभएका प्रा डा ऋषिराम पोखरेल बताउनुहुन्छ । “ब्रह्माजीले शिवजीको तपस्या गर्दा सबै देवता आई देवसभा नै यहीँ भएको वर्णन धार्मिक ग्रन्थमा पाइन्छ, यही सभाका समयमा शिवजीको बोलीबाट वाग्मती प्रकट भएकाले यस नदीलाई ब्राह्मी, सरस्वती, भारती, वाग्वती र वाग्मती आदि नामले पुकारिन्छ”, उहाँले भन्नुभयो ।

    वाग्मती प्रकट भइसकेपछि शिवजीले यस नदीमा स्नान गर्न हिँडेमा मात्र पनि अश्वमेध यज्ञ गरे बराबरको फल प्राप्त हुनेछ, भुक्ति र मुक्ति प्राप्त हुनेछ भनी वरदान दिएकाले अहिलेसम्म पनि स्नान मेला लागेको धार्मिक विश्वास छ । वाग्मती नदी प्रकट भएको मृगेन्द्र शिखरको जल खाएमा भक्भके बोली भएकाको बोलीमा शुद्धता आउने जनविश्वास छ । यही विश्वासका कारण पनि वैशाख १ गते हजारौँ मानिस स्नान र जलसेवनका लागि वाग्द्वारमा आउने गर्छन् ।

    शिवजीको बोलीबाट वाग्मती प्रकट भएर अरु नदी मिसिने प्रत्येक स्थानमा तीर्थ बन्नेछ र यहाँ स्नान एवं दान गरेमा पुण्य प्राप्त हुनेछ भनी भगवान् विष्णुले वरदान दिएकाले सूर्यग्रहण, चन्द्रग्रहण र औँसी आदि पर्वमा वाग्मतीमा स्नान गरी दान दिने परम्परा सनातनदेखि चलिआएको संस्कृति विषयमा विद्यावारिधि गर्नुभएका पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा गोविन्द टण्डन बताउनुहुन्छ ।

    वाग्मती नदी भारतमा रहेको जमुना नदीसँग नमिलुञ्जेल अविच्छिन्नरूपमा वाग्मतीकै नामले चिनिने र यसबीचमा एक हजार आठ तीर्थस्थल बनेका छन् । प्राचीनकालमै तपस्या, ध्यान र साधनाका लागि सिद्धस्थल मानिएको शिवपुरी क्षेत्रमा अगस्त्य, दधिचि र कार्तिकेयलगायतका ऋषिले आई तपस्या गरेको प्रमाण विभिन्न शास्त्रमा उल्लेख गरिएको छ ।

    आधुनिक युगमा पनि शिवपुरी बाबा यसै क्षेत्रमा आई तपस्या गरेर विश्वप्रसिद्ध हुनुभयो । हाल २५ वर्षदेखि टोड्के बाबा नामले परिचित एकजना साधु वाग्द्वारमै बसेर तपस्या गरिरहनुभएको छ । यस क्षेत्रमा शिव पार्वतीको जोडी घुम्दै आउँदा सुन्दरीजलको झरनाबाट मोहित भएर शिव त्यहीँ बसी तपस्या गर्दा शैलमतेश्वर र पार्वती तपस्या गरेको स्थान शैलवती अर्थात् सुन्दरीमाईका रूपमा अहिलेसम्म पनि प्रख्यात छन्् ।

    दुवैको नामबाट प्राचीनकालदेखि नै सुन्दरीजल नामकरण भएको स्थानीयवासीको विश्वास छ । प्रत्येक वर्ष वैशाख १ गते वाग्द्वारमा स्नान गर्न आउने सानेपाकी प्रतिमा अम्गाईँ आफूमा आनन्द बढेको र वर्षमा एकपटक मात्र भए पनि वनजङ्गलको मार्गमा तीन घण्टा हिँड्दा स्वास्थ्यमा राम्रो भएको अनुभवले स्नान गर्न जाने गरेको बताउनुहुन्छ ।

    वाग्द्वार क्षेत्र सेवा समितिका अध्यक्ष अरुण ठकुरी वाग्मतीको उद्गमस्थलमा स्नान गरी शिवपुरी डाँडामा रहेको ३५ मिटर अग्लो शत रुद्रेश्वर शिलामा पूजा गर्ने विधि रहेको बताउनुहुन्छ । दर्शनार्थीले यसपछि विष्णुद्वारमा स्नान गरेर विष्णुपादुकामा दर्शन गर्ने विधान छ । यसो गरेमा दर्शनार्थीको मनकामना पूरा हुने जनविश्वास छ ।

    वाग्द्वार बूढानीलकण्ठ र सुन्दरीजल दुई ठाउँबाट जान सकिन्छ । बूढानीलकण्ठबाट तीन घण्टा र सुन्दरीजलबाट साढे तीन घण्टा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको रमणीय यात्रा गरेपछि प्राकृतिक छटा र सौन्दर्यले भरिएको वाग्द्वार पुगिन्छ । वैशाख १ गते वाग्द्वार, सपनतीर्थ स्नान गरी भक्तपुरको बिस्केट जात्रा हेरेमा वर्षभर रोगव्याध नलाग्ने किंवदन्तीसमेत उपत्यकावासीमा प्रचलित छ । रासस

    बुधवार, बैशाख १ २०७८११:१०:३८

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार