Logo

बिहिवार, फाल्गुण २० २०७७Mar 04 2021

images

प्रविधिको विकास : 'उद्योग, व्यवसायमा नयाँ सम्भावना '

प्रविधिको विकास : 'उद्योग, व्यवसायमा नयाँ सम्भावना '

सोमवार, फाल्गुण ३ २०७७

  • 705
    SHARES

  • प्रविधिको विकास :  'उद्योग, व्यवसायमा नयाँ सम्भावना '

    प्रविधिको विकासले सांस्कृतिक परिवर्तन गर्छ । प्रविधिको विकाससँगै उद्योग, व्यवसायका नयाँ नयाँ सम्भावना खुल्दै जान्छन् । ठूल्ठूला भौतिक संरचना निर्माणले प्रविधिको प्रसार गरेको हुन्छ । नेपालमा जलविद्युत्, सिँचाइ, खानेपानी, सडक, पुलका ठूला परियोजना निर्माण गर्नेक्रममा नवीन प्रविधि र सामग्रीको प्रयोग गर्न थालिएको छ ।

    यसक्रमममा साना विद्युत् परियोजनाका लागि आवश्यकपर्ने पेन्सकिङ पाइपलगायतका सामग्री नेपालमा बनाइन थालेको छ । यस्ता कामले विश्वमा प्रचलित प्रविधिको विस्तार गर्ने र कतिपय अवस्थामा त्यसको स्थानीयकरण गर्न सहयोग गर्नेछ । नागढुङ्गा–नौबिसे सुरुङ मार्ग नेपालमा नयाँ प्रविधि प्रसार गर्ने परियोजना हुने भएको छ ।

    सुरुङ खन्दा साधारणतया चट्टानी क्षेत्र निकै सुरक्षित, सुरक्षाका दृष्टिले उपयुक्त र तुलनात्मक रूपमा सस्तो हुने गर्छ तर चट्टान नभएका माटे क्षेत्रमा सुरुङ खन्दै जाने र त्यसलाई फलामे ढलानले टेको लगाउनुपर्ने हुन्छ । त्यसका लागि टेको लगाउन फलामका ठूला बिम (रिब्स्) आवश्यक पर्छन् । अन्यथा माटे सुरुङ भत्कने गर्छ । नागढुङ्गा–नौबिसे सुरुङ मार्गका लागि आवश्यकपर्ने यस्ता बिम नेपालमा नै पहिलो पटक बुटवलमा बन्ने भएको छ ।

    यस्तो अवसरले एकातिर नेपालको सडक, जलविद्युत्, खानेपानी तथा सिँचाइमा सुरुङ संस्कृति विस्तार हुनेछ भने यस्ता सुरुङलाई आवश्यक पर्ने बिमजस्ता भारवहन गर्ने आवश्यक सामग्री नेपालमै उत्पादन हुनेछ । सुरुङ खन्दा चट्टान फेला नपरेका क्षेत्रको कमजोर भूसंरचनालाई गुम्बज आकारमा पक्की संरचना बनाउन आवश्यकपर्ने अन्तर्राष्ट्रिय गुणस्तरका फलामे टेको नेपालमै बन्न सक्नुलाई नेपाली व्यवसायीको सफलताका रूपमा पनि लिन सकिन्छ ।

    यसको प्रयोगसँगै मिसाइने कङ्क्रिट ढलानले सुरुङलाई धसिन वा पहिरिन नदिई बलियो बनाउने भएकाले अन्यत्र पनि प्रयोग गर्न सकिनेछ । । जलविद्युत्का उपकरण निर्माण गर्ने कम्पनी नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेडले नेपालको पहिलो सुरुङ मार्गका लागि उपकरण निर्माण गर्ने अवसर पाएको छ । यो अवसरलाई नेपालको सन्दर्भमा महìवपूर्ण मान्नुपर्छ ।

    यसरी नै आगामी दिनमा नेपाली प्राविधिक सुरुङ बनाउन र त्यसका लागि आवश्यकपर्ने सामग्री घरेलु रूपमै उत्पादन गर्न सफल हुन सक्छन् । नेपालको भौगोलिक बनोट तथा बाढीपहिरोको प्रकोपका कारण निकै उपयोगी मानिने बेलिब्रिज नेपालमै उत्पादन हुने थप सम्भावना बढेको छ । मेकानिकल इन्जिनियरिङअन्तर्गत भार विश्लेषण गरेर तयार गरिने यस्ता ठूला ट्रस्ट निर्माणमा नेपालले फड्को मार्न सक्छ ।

    पाँच वर्षअघि २०७२ को विनाशकारी भूकम्पपछि कतिपय स्थानमा ट्रस्ट निर्माण प्रचलित हुँदै गरेकाले यस्तो प्रविधिलाई नेपालमैत्री बनाउन सकिनेछ । पछिल्ला दशकदेखि नेपालमा भौतिक संरचनामा निर्माणमा नयाँ नयाँ प्रविधि तथा प्रयोगको अभ्यास हुन थालेको छ । बुटवलस्थित सो कम्पनीले जापानको तोसिबा, अस्ट्रियाको एन्डरिच र जर्मनीको भोइथसँग जलविद्युत्का उपकरण निर्माणमा आर्जन गरेको विश्वसनीयताले यस्तो अवसर पाएको देखिन्छ ।

    स्वदेशी कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तरको सुरुङ निर्माण सामग्री उत्पादन गर्ने अवसर पाएकाले प्राप्त अवसरको सदुपयोगमा नेपाली व्यवसायीको दक्षता जोडिएको हुन्छ भन्नेमा सम्बद्ध कम्पनी सचेत हुनुपर्छ । नेपालमा हजारौँ किलोमिटर सुरुङ खन्नुपर्ने अवस्था छ । यसका लागि नेपालसँग आवश्यक जनशक्ति, प्रविधि तथा आवश्यक सामग्री उपलब्ध हुनुपर्छ ।

    भौतिक संरचनाको विकासका लागि आवश्यक विभिन्न विधाका इन्जिनियरिङको पढाइ नेपालमै हुने गरेको छ । औपचारिक पढाइले प्रविधि विकास तथा विस्तारमा महìवपूर्ण भूमिका निर्वाह गर्छ तर पुस्तकमा पढेका प्राज्ञिक ज्ञानलाई व्यवहारमा उतार्न यस्ता अवसर पाउनुपर्छ । पढाइको आधारमा मात्र प्रविधि प्रसार नहुने भएकाले व्यावहारिक ज्ञानका लागि अभ्यासका अवसर मिल्नुपर्छ ।

    काम गर्दै सिक्दै जाने (लर्निङ फ्रम डुइङ) लाई सिकाइको प्रभावकारी तथा परिणाममुखी प्रक्रिया मानिने भएकाले सम्बद्ध नेपाली व्यवसायी तथा प्राविधिकले प्राप्त अवसरलाई सदुपयोग गरेर एकतिर आफ्नो दक्षता बढाउन सक्नेछन् भने अर्कोतिर देशका लागि नयाँ प्रविधि विकास, विस्तार गर्न सक्नेछन् ।

    नेपालका विभिन्न स्थानमा फलाम खानी पाइएकाले फलाममा आधारित यस्ता प्रविधिको विकासलाई नेपाली व्यवसायी र प्राविधिकले उच्च अवसरका रूपमा लिएर आगामी दिनमा थप प्रयोग र अभ्यास गर्न सक्नेछन् । यो क्रमले नेपालमा गरिने भौतिक संरचना निर्माणमा नयाँ आयाम थपिने विश्वास छ ।

     

    सोमवार, फाल्गुण ३ २०७७०९:२८:३८

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार