काठमाडौं, माघ । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले मंगलबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा साउथह्याम्पटनलाई ९–० गोल अन्तरले पराजित गरेको छ ।
नौ खेलाडीमा समेटिएको साउथह्याम्पटनविरुद्ध युनाइटेडले फराकिलो जित निकालेको हो । खेलको दोस्रो मिनेटमै एलेक्सजेन्ड्रा जान्केविट्जले र ८६ औं मिनेटमा जान बेडानाराकले रातो कार्ड खाएपछि साउथह्याम्पटन ९ खेलाडीमा समेटिएको थियो ।
त्यसपछि खेलको १८ औं मिनेटदेखि युनाइटेडले गोलको बर्षा गरेको थियो । युनाइटेडले पहिलो हाफमा ४ तथा दोस्रो हाफमा ५ गोल गरेका थिए ।
एन्थोनी मार्सियलले २ तथा आरोन वान वासिका, मार्कस रासफोर्ड, एडिन्सन काभानी, स्कट म्याकटोमिने, ब्रुनो फर्नान्डेस र डानियल जेम्सले एक(एक गोल गरेका थिए । त्यस्तै एक गोल जान बेडनाराकले आत्मघाती गरेका थिए ।
प्रिमियर लिगको इतिहासमा युनाइटेडले दोस्रो पटक ९–० को जित निकालेको हो । यसअघि सन् १९९५ मा इप्सविचविरुद्ध युनाईटेडले ९–० को जित निकालेको थियो ।
अन्य खेलमा
शेफिल्ड युनाइटेडले वेष्टब्रोर्म आल्बियनलाई २–१, वुल्भरह्याम्पटन वान्डेरर्सले आर्सनलाई २–१ र न्यूकासल युनाइटेडले क्रिष्टल प्यालेसलाई १–२ गोलले जितको थियो ।
अंक तालिकामा म्यान्चेस्टर युनाइटेड २२ खेलबाट ४४ अंकसहित शीर्ष स्थानको म्यान्चेस्टर सिटीसँग बराबरी गरेको भए पनि गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । लिभरपुल २१ खेलबाट ४० अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानको लेस्टर सिटीको २१ खेलबाट ३९ अंक छ । पराजित आर्सनल २२ खेलबाट ३१ अंकसहित दशौं स्थानमा छ ।