काठमाडाैँ, पुस । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाको सुनुवाइ गर्न सर्वोच्च अदालतले बुधबार नयाँ संवैधानिक इजलास बनाएको छ।
यसअघि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई राखेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गरेका हुन्।
इजलासमा यसअघि रहेका न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई आज पनि निरन्तरता दिइएको छ। संवैधानिक इजलासमा अब केहीबेरमा मुद्दाको सुनुवाइ हुँदैछ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ ले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए। सो विवाद कहाँ सुनुवाइ हुने भन्ने बुधबार मात्र तय हुनेछ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको थियो।
न्यायाधीश कार्की केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा महान्यायाधिवक्ता भएको हुँदा अहिलेको विवादमा न्याय निरुपण गर्ने विषयबारे इजलासमा प्रश्न उठेपछि उनले इजलासमा नबस्ने घोषणा गरेका थिए।