Logo

बिहिवार, माघ ८ २०७७Jan 21 2021

images

राष्ट्रिय एकता दिवस : पृथ्वी दिवस

राष्ट्रिय एकता दिवस : पृथ्वी दिवस

सोमवार, पौष २७ २०७७

  • 1.2K
    SHARES

  • राष्ट्रिय एकता दिवस : पृथ्वी दिवस

    आज ‘राष्ट्रिय एकता दिवस’ अर्थात्  पुस २७ गते । नेपाल राष्ट्र निर्माणमा यो दिनको विशेष महìव र गरिमा रहेको सत्य आमनेपाली हृदयमा कुँदिएको छ । वि.सं. २०१२ देखि पुस २७ गतेलाई पृथ्वी दिवसका रूपमा मनाउन थालिएकोमा प्रजातन्त्र पुनस्र्थापना (२०४६) पछि यस दिनलाई राष्ट्रिय एकता दिवसको सम्मानसहित मनाउन थालिएको छ ।

    दिवसले कुनै निश्चित एक दिनको सम्झना मात्र गराउने छैनन् ती दिनसँग सम्बन्धित ऐतिहासिक घटना, उपलब्धि तथा गरिमालाई इतिहासपर्यन्त जीवन्त बनाउने गर्छन् । बाइसे, चौबिसे राज्यमा विभक्त नेपाल र नेपालीलाई एकताको सूत्रमा बाँध्न पुर्खाहरूका चिरस्मरणीय योगदानको सम्मानका लागि कुनै दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु सान्दर्भिक हुने भएकाले नेपालले एकीकरणका नायक बडामहाराज पृथ्वीनारायण शाहको जन्मदिनलाई नै पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका रूपमा मनाउँदै आएको छ ।

    यो दिवसले कुनै एक व्यक्ति तथा परिवारको मात्र नभएर एकीकरणमा योगदान दिनुहुने सम्पूर्ण नेपालीप्रति भावपूर्ण श्रद्धाअर्पण गर्न प्रेरित गर्छ । योगदानको सम्मान गर्छ र एकीकृत नेपाली मनहरूलाई अझ बढी सामीप्य गर्न प्रोत्साहन गर्दै आएको छ ।
    यो दिवसका सन्दर्भमा केही विवाद र अन्योल पनि भए । बहुलवाद स्वीकार गरेको नेपालमा कुनै पनि पद्धति वा घटनाप्रति पृथक विचार आउनु अस्वाभाविक होइन । विक्रम संवत् १७७९ पुस २७ गते जन्मेका पृथ्वीनारायण शाहको जन्म दिनलाई नै राष्ट्रिय एकता दिवस नभनेर उहाँले नेपाल एकीकरणको अथः वा इति गरेका कुनै दिनलाई यस्तो दिवस भनिएको भए उत्तम हुने थियो ।

    विगतका शासन, सत्ताले राजपरिवारलाई सम्मान गर्ने नाममा स्थान विशेष, सम्पदा तथा दिनहरूलाई पनि उनीहरूकै नाम वा जीवनसँग जोडेर पहिचान दिने काम गरेकै हो । पुस २७ मात्र होइन अन्य दिवस पनि यस्ता प्रवृत्तिको घानमा परेका छन् । त्यो विगत सत्ताले गरेको गल्ती हो । सत्ताले गल्ती गर्न सक्छ तर सत्यले गल्ती गर्दैन ।

    जुन दिन भनिए पनि नेपालको एकीकरण पृथ्वीनारायण शाहको नेतृत्वमा भएको सत्य हो । त्यो इतिहासको सम्मान गर्नुले सम्मानको संस्कृति स्थापित गर्छ । कुन दिन वा तिथिको विवाद गौण र प्राविधिक बहस मात्र हो । नेपालले राष्ट्रिय एकता दिवसका रूपमा एकीकरणमा संलग्न सबै नेपालीको संस्मरण र सम्मानार्थ यो दिवस मनाउनुको पछाडि पनि यही तर्क छ कि कुन दिन वा पात्रभन्दा पनि एकीकरणमा दिइएको योगदान सम्मानित होओस् ।
    एकीकरण प्राविधिक र भौतिक परिणाम मात्र होइन । यो मनोवैज्ञानिक र बहुआयामी हुन्छ । आज विश्वभर जहाँ रहे, भएका नेपालीबीचको भावनात्मक एकता अझ बढी आवश्यक भएको छ । भाषिक, सांस्कृतिक एकीकरणका प्रक्रिया पछिल्ला पुस्ता र युगमा हुँदै आएका छन् । अझ हुँदै जानेछन् । यसको जग नेपालको भौगोलिक एकीकरणबाटै प्रारम्भ भएको हो ।

    आज पनि नेपालको अग्रगमन तथा समृद्धिका लागि हाम्रा हात र साथमा एकीकरण हुन आवश्यक छ । विश्वमा सुन्दर, शान्त नेपालका सुखी नेपालीका हैसियतमा परिचित हुन हाम्रा तमाम पहल अझ बढी एकत्र हुनुछ । नेपालको विशिष्ट पहिचान तथा विश्वव्यापी व्यक्तित्व निर्माणमा हाम्रा मन र मस्तिष्क अझ एकाकार हुनुछ । समग्रमा यही नै राष्ट्रिय एकता दिवसको सन्देश र सान्दर्भिकता हो । यो विगतको सम्मान गर्ने केवल सनातनी परम्परा मात्र नभई युगअनुसारको एकीकरण प्रक्रियाप्रति वर्तमान पुस्तालाई उत्प्रेरित गर्ने आस्था र अवसर पनि हो ।
    वर्तमान नेपालले विद्यमान संविधान अनुसार समावेशी राज्यप्रणालीमार्फत सबै जातको पूmलबारीको अपनत्वको जगेर्ना गरिरहेको छ । संविधानले विकासको मूलधारमा आउन नसकेका क्षेत्र तथा समुदायलाई संवैधानिक र कानुनी उपचारमार्फत विकासको मूलधारमा आउने अवसर प्रदान गरेको छ ।

    सरकारले नागरिकका मौलिक हक तथा सामाजिक न्याय, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित नेपालले सम्पन्नता–विपन्नताको युग निर्मित खाडल पुर्दै समानता र समाजवादउन्मुख आर्थिक एकीकरणका कार्यक्रमलाई तीव्रता दिइरहेको छ । सङ्घीय लोकतान्त्रिक पद्धतिमार्फत विद्यमान विविध असमानता र विसङ्गतिविरुद्ध एकताबद्ध पहल गर्न पनि आजको दिनले सबैलाई प्रेरणा दिनेछ ।

    सोमवार, पौष २७ २०७७०८:५४:०५

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार