Logo

मंगलवार, माघ १३ २०७७Jan 26 2021

images

वायु प्रदूषण : 'जनस्वास्थ्यमा निकै ठूलो असर'

वायु प्रदूषण : 'जनस्वास्थ्यमा निकै ठूलो असर'

बिहिवार, पौष २३ २०७७

  • 497
    SHARES

  • वायु प्रदूषण  :  'जनस्वास्थ्यमा  निकै ठूलो  असर'

    काठमाडौंको मौसम गत सोमबार र मंगलबार एक्कासि चिसियाे । त्याे मात्र हाेइन, वायुमण्डल पनि जो कोहीले महसुस गर्ने गरी प्रदूषित बन्यो । मानिसले घरबाहिर निस्कना साथ सास फेर्न असहज भएको र आँखा पोलेको अनुभूति गरे । त्यस्तो नहोस् पनि किन, मंगलबार अपराह्नसम्म विश्वका विभिन्न ५० सहरमध्ये काठमाडौं वायु प्रदूषणमा एक नम्बरमा थियो । यहाँको प्रदूषणले पाकिस्तानको कराँची, बंगलादेशको ढाका र भारतको मुम्बईलाई पनि उछिनेको थियो ।

    यसरी जनस्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याउने गरी संवेदनशील बन्नुप हो । नीति निर्माता तथा निर्णयकर्ता र आम नागरिकहरू यो समस्याप्रति संवेदनशील बन्नुपर्छ । ‘स्टेट अफ ग्लोबल एयर– २०२०’ का अनुसार मुलुकमा वायु प्रदूषणले निम्त्याउने रोगका कारण बर्सेनि ४२ हजारभन्दा बढीको ज्यान जाने गरेको छ । यो भयावहपूर्ण तथ्यांकले दिने पाठ हो– प्रदूषण घटाउने मामिला प्रकृति र पर्यावरण स्वच्छ राख्ने विषय मात्रै होइन, यसको सोझो सम्बन्ध जनस्वास्थ्यसितै छ ।

    तथ्यांकमै समेटिइएको ज्यान जानेको संख्या त यति धेरै छ भने, प्रदूषणकै कारण दीर्घरोगी हुने कति होलान् ? काठमाडौं जस्ता प्रदूषित सहरमा बस्नेहरूमध्ये सामान्य प्रभावित त झनै कति होलान् ? यसबाट सोझै अनुमान गर्न सकिन्छ– वायु प्रदूषणले जनस्वास्थ्यमा परेको असरको मूल्य निकै ठूलो छ । तसर्थ, यो यथार्थलाई मध्यनजर गरी सरकारले प्रदूषण घटाउने कार्यक्रम कार्यान्वयनमा अब पनि गैरजिम्मेवार बन्नु हुँदैन ।

    विज्ञका अनुसार प्रदूषित कणले श्वासप्रश्वास र रक्तसञ्चार प्रणालीमा प्रवेश गरेर मुटु, मस्तिष्क र फोक्सोलाई असर गर्छ । फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग, दम, निमोनिया, मस्तिष्कघात हुन सक्छ । कम तौल वा समय नपुग्दै बच्चा जन्मिन सक्छ । अहिले त यसको सम्बन्ध वर्तमान महामारीसित पनि जोडिने जोखिम छ ।

    अमेरिकाको हार्वर्ड युनिभर्सिटी र जर्मनीका वैज्ञानिकहरूले अमेरिका र चीनमा केहीअघि गरेको अध्ययनअनुसार वायु प्रदूषण बढी भएका स्थानमा बस्नेहरूमा कोभिड–१९ संक्रमण पनि बढी पाइएको छ । उक्त अध्ययनले कोभिड–१९ बाट मृत्यु भएकामध्ये १५ प्रतिशतमा मुख्य कारण वायु प्रदूषण रहेको ठम्याएको तथ्यलाई हाम्रा जिम्मेवार निकायहरूले भुल्नु हुँदैन ।

    काठमाडौं त उसै पनि कचौराजस्तो छ । जाडो महिनामा फेरि न हावा चल्छ न र लामो समय वर्षा हुन्छ । यसपालि त पुसे झरी पनि परेन । यस्तो बेला अलिकति हावा चलेन भने पनि वायु प्रदूषण ह्वात्तै बढ्छ, वायुमण्डलको तल्लो तहमा अत्यधिक धूलो र धूवाँ तैरिन्छ । सोमबार र मंगलबार पनि भएको यही हो । प्रदूषणको मात्रा ह्वात्तै बढेकाले सरकारले विज्ञप्ति नै निकालेर वृद्धवृद्धा, दम–खोकी, श्वासप्रश्वास र मुटुका बिरामी, बालबालिकालगायतलाई घरबाहिर ननिस्कन आग्रह गर्नुपर्‍यो ।

    सरकारले गत वर्ष स्वीकृत गरेको ‘काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजना’ मा वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३ सय नाघे विपद्को रूप लिने भनेकोमा सोमबार र मंगलबार काठमाडौंका विभिन्न स्थानको एक्यूआई ४ सय नाघेको थियो । एक्यूआईको मात्रा २०१ नाघ्नु नै अस्वास्थ्यकर हो भने ३०० बाट पनि माथि उक्लनु त घातक नै हो ।

    वायु स्वस्थ हुनका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । काठमाडौं उपत्यकामा यातायातका साधन वायु प्रदूषणका मुख्य स्रोत हुन् । त्यसबाहेक, सडकको धूलो, फोहोर र कृषिजन्य अवशेष बाल्दाको धूवाँ, इँटाभट्टा, घरभित्र दाउरा र गुइँठाबाट निस्किने धूवाँ पनि यसका स्रोत हुन् ।

    तसर्थ, सरकार तथा नागरिक दुवैले सम्भव भएसम्म प्रदूषणका यी स्रोतहरू थुन्ने प्रयास गर्नुपर्छ । तर विडम्बना, मन्त्रिपरिषद्ले गत फागुन १२ गते ‘काठमाडौं उपत्काका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना–२०७६’ ल्याए पनि यो कागजमै सीमित छ ।

    कार्ययोजनामा उपत्यका भित्रिने सवारीसाधनमा युरो–४ मापदण्ड लागू गर्नेदेखि प्रदूषणसम्बन्धी मापदण्ड लागू गरी पास हुने सवारीसाधनलाई हरियो स्टिकर दिइनेसम्मका कार्यक्रम छन् । काठमाडौंभरि चल्ने सवारीसाधनको प्रदूषण जाँच गर्न एक वर्षभित्र कम्तीमा दुईवटा प्रदूषण मापन केन्द्र स्थापना गर्नेजस्ता कैयौं कार्यक्रम यसमा भए पनि त्यस दिशामा कुनै प्रगति भएको छैन । काठमाडौं उपत्यका नगरपालिका फोरमले उपत्यकाको प्रदूषण नियन्त्रण गर्न दुई वर्षअघि पारित गरेको ९ बुँदे प्रतिबद्धताको हाल पनि यस्तै छ ।

    सहर पर्यावरणीय र स्वास्थ्यका हिसाबले बस्नलायक बनाउने दायित्वबाट यसरी सरकार तथा सम्बन्धित निकायहरू भाग्नु हुँदैन । नागरिकलाई प्रदूषणको आपत्बाट जोगाउन घोषित कार्यक्रमको अविलम्ब कार्यान्वयन थालिनुपर्छ । कुनै पनि विषयमा योजना मात्रै बनाएर कुनै प्रगति हुँदैन, त्यसको कार्यान्वयन पनि सही ढंगले हुनुपर्छ र ठोस परिणाम नै देखिनुपर्छ ।

    नत्र काठमाडौंको वायुमा प्रदूषित धूलो मात्रै होइन, सरकारी अकर्मण्यता पनि तैरिनेछ । अबको २–३ महिनै काठमाडौंको वायु प्रदूषण बढ्ने भएकाले नागरिक पनि सतर्क रहन उत्तिकै आवश्यक छ । प्रदूषणबाट जोगिन हरेकले घरबाहिर निस्कँदा मास्क प्रयोग अनिवार्य गर्नुपर्छ, सम्भव भएसम्म घरमै बस्नु उत्तम हुन्छ ।

    डब्लूएचओकै अनुसार पनि यस्तो बेला व्यस्त सडकमा हिँड्ने समय घटाउनुपर्छ । शारीरिक व्यायाम पनि कम प्रदूषित क्षेत्रमा मात्रै गर्नुपर्छ । अत्यधिक प्रदूषित दिनमा गाडीको उपयोग कम गर्नुपर्छ । फोहोर पदार्थलाई डढाउनु हुँदैन । यसरी, आ–आफ्नो ठाउँमा सरकार जनउत्तरदायी र नागरिक कर्तव्यनिष्ठ हुने हो भने मात्रै यो समस्या न्यूनीकरण हुने तथ्य सबैले मनन गर्नुपर्छ ।

    बिहिवार, पौष २३ २०७७०८:२६:४९

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार