images
Logo

बुधवार, श्रावण २८ २०७७Aug 12 2020

images
images
‘नेपालीस्याट–१’

नेपालको ‘फुच्चे स्याटेलाइट’ : "काम गर्न थाल्यो, ब्यवस्थापन भएन"

नेपालको ‘फुच्चे स्याटेलाइट’ : "काम गर्न थाल्यो, ब्यवस्थापन भएन"

  • शनिवार, श्रावण १७ २०७७


  • नेपालको ‘फुच्चे स्याटेलाइट’  : "काम गर्न थाल्यो, ब्यवस्थापन भएन"

     

    काठमाडौं,  साउन । नेपालको पहिले भू–उपग्रह भनिएको ‘नेपालीस्याट–१’ले पृथ्वीको परिक्रमा गर्न थालेको गत असार २ गते एक वर्ष बित्यो । यो स्याटेलाइट प्रक्षेपण भएकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नै ‘नेपाल अन्तरीक्ष युगमा प्रवेश गर्‍यो’ भन्दै ट्विट गरेका थिए ।

    images

    अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट नानो स्याटेलाइट अन्तरीक्षमा छाडिएलगत्तै विज्ञहरुले भने यो स्याटेलाइटलाई ‘डुंगालाई पानी जहाज भनेजस्तै’ भनेर टिप्पणी गरेका थिए । यद्यपि त्यसबेला नेपालले आफ्नै स्याटेलाइट पठाएको भन्दै सर्वत्र खुसी व्यक्त भएको थियो ।

    तर, एक वर्षसम्म सो स्याटेलाइटबाट नेपालले कुनै पनि लाभ लिन सकेको छैन । अरु त परै जाओस्, यसबारे जानकारी लिने र चासो राख्ने विद्यार्थीले पनि स्याटेलाइटलाई ‘कमाण्डिङ’को अभ्यास गर्न पाएका छैनन् ।

    यो स्याटेलाइट सुरुमा चर्चा गरिएजस्तो उपयोगी हुन नसकेको विज्ञहरु बताउँछन् ।  त्यसको खास कारण हो, नेपालको स्याटेलाइट ग्राउन्ड स्टेसनमा पर्याप्त पूर्वाधार नहुनु ।

    यो स्याटेलाइटको कमान्डिङका लागि खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) मा ग्राउन्ड स्टेसन तयार गरिएको छ । तर, नाष्टका प्राविधि संकाय प्रमुख वैज्ञानिक डा. रवीन्द्र ढकालका अनुसार अझै पनि नेपालबाट यो स्याटेलाइटलाई कमान्ड दिन सकिएको छैन ।

    नाष्टले यो स्याटेलाइट अन्तरीक्ष विज्ञानबारे चासो राख्ने विद्यार्थीहरुको सिकाइका लागि उपयोगी हुने बताएको थियो, तर यसको सदुपयोग गर्न नपाउँदै आयु सकिने चिन्ताले नाष्टकै अधिकारीहरुलाई सताउन थालेको छ

    कमान्डका लागि सिग्नल दिन चाहिने चाहिने रेडियो उपकरण ल्याएर जडान गर्न ढिलाइ हुँदा अहिलेसम्म नानो स्याटेलाइटलाई अधिकतम् उपयोग गर्न नसकिएको ढकालको गुनासो छ । ‘त्यस्ता उपकरण ल्याउने प्रक्रिया त अघि बढाइसकेका छौं,’ उनले भने, ‘अहिले अन्य देशको ग्राउन्ड स्टेसनबाट कमान्ड दिएर पनि पृथ्वी र नेपाली भूभागको फोटो खिचिरहेका छौं ।’

    केही महिनाअघि बंगलादेशबाट कमान्ड दिएर खिचिएको फोटोमा भारतको आसाम लगायतका क्षेत्रहरु देखिएका थिए ।

    पछिल्लोपटक ‘नेपालीस्याट–१’मार्फत फोटो खिच्न नेपालको भुटानको ग्राउन्ड स्टेसन प्रयोग गरिएको थियो । भुटानबाट कमाण्ड दिएर खिचेको फोटोमा नेपालको हिमाली क्षेत्रसहितको भूभाग देखिएको ढकालले बताए ।

    सुरुमा पृथ्वीबाट ४२० किलोमिटर माथि छोडिएको ‘नेपालीस्याट–१’ अहिले ३२० किलोमिटरमा आईपुगेको  छ । करिब पथ्वीबाट सय किलोमिटरको द्युरीमा तल आएपछि यो आफैं नष्ट हुन्छ ।

    ‘नेपालीस्याट–१’ प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउँछ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा एकपटक नेपालको आकाशमा आउँछ । तर, यसलाई नेपालले आफ्नो नियन्त्रणमा राखेर चलाउन सकेको छैन ।

    यो स्याटेलाइट अन्तरीक्षमा पुगेपछि तस्वीरसहितका डाटाहरु पठाउन थाल्ने भनिए पनि फोटो खिच्न सक्ने गरी पूर्वाधार नै अझै तयार भएको छैन । यसबाट मौसमी सूचनाहरु पनि दिन सक्ने भनिए पनि त्यस्तो सूचना लिन मिल्ने गरी कुनै प्रणाली नै स्थापित गरिएको छैन ।

    यो स्याटेलाइट जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थी आभाष मास्के (स्पेश इन्जिनियरिङमा पीएचडी) र हरिराम श्रेष्ठ (स्नातकोत्तर) ले तयार गरेका थिए । यसलाई २०७६ वैशाख ५ राति २ बजेर ३१ मिनेटमा अमेरिकाबाट अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो ।

    ‘नेपालीस्याट–१’ १० सेन्टिमिटर लम्बाइ, चौडाइ र उचाइ छ । यसको तौल एक किलो तीन सय ग्राम छ । स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम पनि छ ।

    नाष्टले यो स्याटेलाइट अन्तरीक्ष विज्ञानबारे चासो राख्ने विद्यार्थीहरुको सिकाइका लागि उपयोगी हुने बताएको थियो । तर, यसको सदुपयोग गर्न नपाउँदै आयु सकिने चिन्ताले नाष्टकै अधिकारीहरुलाई सताउन थालेको छ ।

     

    साभार : अनलाइन खबर

    शनिवार, श्रावण १७ २०७७११:४४:२९
    सम्बन्धित समाचार