आइतवार , २०७७ श्रावण  २५ ( Sunday , 2020 Aug 09 )

images

नेपालगञ्ज : दुई आइसोलेसन बन्द, छवटा खाली

  • डेमोखबर

  • प्रकाशित: आइतवार , २०७७ आषाढ  २८


नेपालगञ्ज, असार । केही समय अगाडि कोरोना हटस्पट बनेको बाँके जिल्लामा अधिकांश संक्रमितहरु निको भएर घर फर्किएकोले हाल आएर जिल्लाका अधिकांश आइसोलेसन अस्पताल र सेन्टरहरु खाली हुँदै गएका छन् ।
संक्रमित घट्दै गएको र नयाँ धेरै नथपिएकोले बाँकेमा स्थापना गरिएकामध्ये २ वटा आइसोलेसनलाई बन्द गरिएको र ६ वटा खाली रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका अधिकृत तथा कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार संक्रमित धेरै भएपछि स्थापना गरिएको नेपालगञ्जस्थित लायन्स डेन्टल अस्पतालमा रहेको आइसोलेसन सेन्टर र खजुराको कृषि तालिम केन्द्रमा स्थापना गरिएको आइसोलेसन सेन्टरलाई सधैंका लागि बन्द गरिएको छ ।
लायन्स डेन्टल अस्पतालमा रहेको आइसोलेसन सेन्टर नरैनापुरका संक्रमितलाई राख्न स्थापना गरिएको थियो भने कृषि तालिम केन्द्रको आइसोलेसनलाई पनि नरैनापुरलगायत जिल्लाका अन्य स्थानका संक्रमितलाई राख्न स्थापना गरिएको फोकल पर्सन श्रेष्ठले बताए ।
दुईवटा बन्द गरिएपछि बाँकी रहेका जिल्लाका १२ वटा आइसोलेसन सेन्टरमध्ये ६ वटामा मात्र संक्रमित रहेका छन् । अन्य ६ वटा भने खाली रहेका छन् ।
केही समय अगाडि ३७२ जना संक्रमित पुगेको बाँकेमा अहिले २२ जना मात्र संक्रमित रहेका छन् । क्वारेन्टाइनहरुमा पनि हाल आएर १९२ जना मात्र रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल आएर भारतबाट फर्किनेहरुको संख्या पनि घट्दै गएको हुँदा अधिकांश क्वारेन्टाइनहरु पनि खाली भैसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया